ब्लाटखबर । प्रहरीले धरान-१५ बाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमी गाउँपालिका-६ का २७ वर्षीय रोशन राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आफूलाई नेकपा विप्लव समूहको सुनसरी जिल्ला इन्चार्ज बताउँने राईलाई विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएकाे टोलीले पक्राउ गरेको हो ।

पक्राउ पछि सोधपुछ गर्ने क्रममा वडाको रामहंस मार्गमा मोटरसाइकल पार्क गरी राखेको खुलेको थियो । प्रहरीले मोटरसाइकल खानतलासी गर्ने क्रममा सिट मुनी प्लाष्टिकमा भित्र लुकाइएको अवस्थामा मेड इन युएस लेखिएकाे स्वचालित पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिनसहित ३ राउण्ड गोली, दुई थान मोबाइल र ६ थान माेबाइल लाग्ने सिमकार्ड बरामद गरिएकाे इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

राईलाई जिल्ला अदालत सुनसरीबाट हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए । विप्लव समूहमा राईलाई निश्चल नामले बाेलाइने गरिन्थ्याे । पार्टीले पनि आफ्नो कार्यकर्ता भएको पुष्टि गरेकाे छ ।