धरान । गाँजा र जंगली जनवारको सिङ्ग र प्वाँख ओसारपसार गरेको आरोपमा धरान प्रहरीले मंगलबार साँझको समयमा ट्याम्पोसहित तीन जनालाई पक्राउ गरेको छ ।

दुई वटा पोका बनाएको अवस्थामा २४५ ग्राम गाँजा र कालिजको कालो रंगको प्वाँख सानो ठूलो गरी १८ वटा, जंगली जनावर घोरलको सिङ जस्तो देखिने ४ थान र कस्तुरीको २ थान सिङ बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले धरान–२० विष्णुपादुकाको एक्लेवर चौतारा नजिकबाट को २ ह ५४४७ नम्बरको टेम्पोलाई शंका लागेको आधारमा जाँच गर्दा उक्त परिणाममा सामग्री बरामद गरिएको जनाएको छ ।

गाँजा र जंगली जनावरको सिङ ओासारपसारमा संलग्न धनकुटा सहिदभूमि गाउँपालिका १ छिन्ताङ घर भई हाल सुनसरीको धरान ११ सीमानाचौक बस्दै आएका २९ वर्षीय नन्दीमान राई, सहिदभूमी १ घर भई धरान ११ बस्दै आएका १९ वर्षीय दिनेश भनिने सविन राई र उदयपुर कटारी नगरपालिका २ ताप्ली घर भई धरान ११ बस्दै आएका २० वर्षीइ सागर राईलाई नियन्त्रणमा लिइएको हो ।

नन्दीमान राई भने ट्याम्पोका चालक हुन् । उनीहरूलाई लागूऔषध कारोबार ऐन र जंगली जनावरका प्वाँख साथै सिङ ओसारपसार गरेको अभियोगमा धरान तीनकुनेस्थित सेक्टर वन कार्यालयलाई कागजात बुझाइएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।