धरान । धरानमा हिजो राति (मंगलबार) करिब ८ बजेतिर धरान–९ दीप पथमा फिल्मी शैलीमा दुई युवाले मोबाइल लुटपाट गरेका छन् ।

प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार ७ बजेर ४० मिनेटको हाराहारीमा तराई मूलका नागरिकलाई कुटपिट गर्न खोजेर मोबाइल लुटपाट गरी भागेका हुन् । लुटपाट गर्ने युवाहरू भने पहाडी मूलका हुन् । उनले भने,–‘मैले त सोचे साथीसाथी हुन् रेला गर्दै होलान् भनेर वास्ता गरिन । एउटाले ढुंगाले टिपेर हान्न पनि खोज्दै थियो, मोबाइल निकाल भन्दै थियो, अर्कोले मोबाइल गोजीबाट निकालेर भाग्यो ।’

उनले साथीभाइबीच यस्ता विषयमा सामान्य वादविवाद भइरहने हुनाले पनि तत्कालीन समयमा बेवास्ता गरेको बताए । तर केही समयपछि ती युवाले हारगुहार गरेका कारण लुटपाट भएको रहेछ भन्ने थाहा पाएको बताए ।

मोबाइल लुटिएका युवा धरान–९ रोहणी मार्गतिर बस्दै आएका युवा रहे पनि नाम भने थाहा नभएको उनले बताए । यसबारे पीडित युवाले पनि कहीँ कतै पनि गुनासो र उजुरीसमेत दिएको आफूलाई जानकारी नभएको बताए । धरानमा यस्ता घटना दिनहुँ हुने गरेका छन् तर पीडितहरूले प्रहरीमा उजुरी दिने गरेका छैनन् । उजुरी दिँदा झन्झटिलो प्रक्रिया हुने कारण पनि उजुरी दिने गरेका छैनन् । अझ तराई तथा भारतीय मूलबाट आएका नागरिकहरूले कहीँकतै पनि उजुरी दिने गरेका छैनन् ।