भद्रपुर / राष्ट्रवादी युवा समाज झापाले एमसीसी खारेजीको मागसहित विरोध कार्यक्रम गरेको छ । समाजले मङ्गबार झापाको मेचीनगरस्थित काँकडभिट्टा बसपार्कमा सयौँको सङ्ख्यामा उपस्थितिमा कार्यक्रम गरेको थियो ।
एमसीसी खारेज गर, एमसीसी चाहिँदैन, राष्ट्र बेच्न पाइँदैन, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ, राजा ल्याऔँ देश बचाऔंँ लेखिएका प्ले–कार्डसहित उपस्थित समर्थकहरूले करिब २ घण्टा विभिन्न विरोध कार्यक्रम गरेका थिए ।
कार्यक्रममा समाजका झापा संयोजक रामजी कास्यप ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो भने समाजका जिल्ला सदस्य योगेन्द्र खनाल, टेकनाथ खनाल, लिप्सन बास्तोला, बद्री महत, लक्ष्मणकुमार लिम्बू, राजन प्रसाईं, गिरीराज पौडेल, विजय थापा, उमेश पाठक, नवराज ढकाल रहेका थिए । भूपाल तामाङको सभापतित्वमा भएको कोणसभाको सञ्चालन समाजका जिल्ला सदस्य नेत्र कार्कीले गरेका थिए ।
विभिन्न राष्ट्रवादी सङ्गठनमा रहेका शक्तिलाई एकीकृत गर्दै एउटै युवा समाजमा सङ्गठित गरेर निरन्तररूपमा खबरदारी कार्यक्रम मेचीदेखि महाकालीसम्म सचेतनासहितको दबावमूलक विरोध गर्ने कार्यक्रम रहेको कार्कीले बताए ।
































