कालाबञ्जार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वराहक्षेत्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयलाई प्राथमिकीकरण गरेर वराहक्षेत्रका नगर प्रमुख निलम खनाललाई प्रतिवेदन बुझाएको छ ।

स्थानीय स्तरमा सरोकारवाला, स्थानीय जनतासँग राय, सुझाव संकलन गरी नगर प्रमुख खनाललाई नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राख्न भन्दै प्रतिवेदन बुझाएको हो । नेकपाले कार्यदल नै गठन गरेर सुझाव संकलन गरेको थियो । जेठ १६ गतेदेखि सुझाव संकलनमा जुटेको नेकपा नगर कमिटीले वराहक्षेत्र नगरपालिकाभरिका २० वटा सरोकारवालासँग अन्तरक्रिया गरेपछि प्रतिवेदन तयार गरेको नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए ।

उनका अनुसार सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी जनजाति, दलित, महिलालगायतका सरोकारवालाहरूसँग छलफल गरेर प्रतिवेदन बनाएर बुझाएका हौं । नेकपाको प्रतिवेदनमा स्वास्थ्य पहिलो प्राथमिकतामा परेको छ भने दोस्रोमा कृषि, शिक्षा, रोजगार र भौतिक विकासलाई क्रमशः प्राथमिकीकरणमा राखेको छ । सुझाव संकलन कार्यदलका संयोजक पुष्प ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व नगरबासीले कस्तो खाल्को कार्यक्रमलाई चाहेका छन् भन्ने विषयमा राय संकलन गरिएको बताए ।

स्थानीय तहहरू असार १० गतेभित्र नीति तथा कार्यक्रम साथै बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुरूप अहिले स्थानीय तहहरू बजेट निर्माणमा जुटेका छन् ।