कालाबञ्जार । संघीय सांसद् रामकुमारी चौधरीले बन्दाबन्दीको बेला महिला हिंसा बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले संसद्मा बन्दाबन्दीको समयमा देशभर ३७३ बलात्कारका घटना घटेकाले यस्ता विषयमा सरकार गम्भीर बन्नु पर्ने बताइन् । उनले औसतमा दैनिक पाँच महिला बलात्कारको शिकारमा पर्दै आएकाले यस्ता विषयमा पनि सरकार गम्भीर हुनुपर्ने भन्दै ध्यानाकर्षण गराइन् ।

उनले बहुविवाह, बालविवाह, मानव बेचविखन, बोक्सी आरोपमा कुटपिट, अप्राकृतिक मैथुनका घटना बढेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराइन् । उनले अपराधमा संलग्नलाई हदैसम्मको कारबाही गर्ने व्यवस्था गर्नका लागि माग गरिन् । उनले घटना घट्नुका पछाडि कानूनको कार्यान्वयन पक्ष फितलो भएको हो भन्दै ठोकुवा गरिन् ।