धरान । आइतबार अपरान्ह स्थानीयले धरान–१५ र ५ नम्बर वडा जोडिने सेउती खोलामा घोप्टो परेको अवस्थामा शव देखे । स्थानीयले तत्कालै प्रहरीलाई खबर गरे ।

प्रहरी घटनास्थल पुग्यो । घटनास्थलको प्रकृति र वस्तुस्थिति निरीक्षणपश्चात शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । घटनास्थलमा प्रहरीले गिलास, घरेलु हतियार, गिलासभित्र केही झोलिलो पदार्थ र मृतक महिलाको साथबाट केही कागज बरामद गर्न सफल भयो । एउटा कागजमा घरायसी हिसाबकिताब गरिएको थियो । जहाँ आफूले पाउनुपर्ने र दिनुपर्नेको सूची थियो । अर्को झनै महत्त्वपूर्ण कागज फेला पारेको थियो । त्यसमा ‘आफू मर्दै गरेको आसयको कागज’ थियो ।

धरान–१५ को फूलबारी मार्गकी ४६ वर्षीया बिमला तामाङ रहेको प्रहरी पुष्टिसमेत गरिसकेको छ । गिलास र गिलासमा भेटिएको झोलिलो पदार्थ के हुन सक्छ भन्ने एङ्गलमा प्रहरीले परीक्षणका लागि ल्याबमा पठाएको छ । तर हाल प्रहरीले विष हुन सक्ने आशङ्का गरेको छ । किनकि मृतकले बमिटिङ गरेको पनि प्रहरीले पाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ‘आफू मर्दै गरेको आसयको पत्र, बमिटिङ र गिलासमा झोलिलो पदार्थ भेटिनु’ले विष हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

तर, त्यो के पदार्थ हो भनेर पुष्टि हुन ल्याबको रिपोर्टलाई नै आधार मान्नुपर्ने डिएसपी बस्नेतले जानकारी दिए । घटनाको प्रकृति र वस्तुस्थितिका आधारमा हत्या हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अनुसन्धानको पाटो भएकाले अहिले नै निश्कर्षमा पुगिहाल्न नसक्ने डिएसपी बस्नेतले जानकारी दिए । छोराहरूले बिहानसम्म घरमै रहेको र त्यसपछि घरबाट बाहिर निस्किएपछि नआएकाले घटना भएको दिन (आइतबार) अपरान्ह १२ बजेसम्म खोजी गरेको प्रहरीले सूचना दिएका छन् ।