धरान । कोभिड–१९ बारे राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संस्था जनमुक्ति युवा महासंघ धरान नगर समितिका युवाहरूलाई सचेतना गराइएको छ ।

शनिबार धरानको होटल पूर्वीस्टारमा आयोजित कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. किशोर गुरुङले कोरोनाबारे सचेतना गराए । उनले कोरोनाबाट बच्नका लागि भौतिक दूरी र भिडभाडमा नजानका लागि आग्रह गरे । उनले कोभिड १९ बाट बच्नका लागि अनावश्यक काममा बाहिर ननिस्किनका लागि आग्रह गरे । उनले मास्क र सेनिटाइजर लगाउन सल्लाह दिए ।

महासंघका नगर अध्यक्ष मनि राईले युवाहरूलाई कोरोना भाइरस कस्तो खाल्को भाइरस हो र यसबाट बच्नका लागि अपनाउनुपर्ने उपायको बारेमा जानकारी गराइएको बताए । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले कोरोनालाई पराजित गर्नका लागि यसबेला सबै पार्टी एक ढिक्का भएर लाग्नु पर्ने बताए । उनले महामारीको बेलामा युवाहरूको भूमिका थप प्रभावकारी हुने बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव विष्णु थामदेन, महासभा सदस्य ताराबहादुर गुरुङ, बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय महासचिव अभिन मेन्याङ्बो, धरान नगर अध्यक्ष चित्र मगर, नेवाः देय दवूका नगर अध्यक्ष मनोहर शाक्यलगायत सहभागी थिए । कार्यक्रममा करिब ५० भन्दा बढी युवाहरू सहभागी थिए ।