• धनबहादुर पुरी

इटहरी/ प्रदेश १ मा लकडाउनको समयमा अपराध मौलाएको छ । ११ चैत २०७६ देखि लकडाउन शुरु भयो । तर यही समयमा प्रदेश १ मा एक दर्जन जघन्य हत्या अपराधका घटनाहरू भए । कतै श्रीमान्ले श्रीमती त कतै श्रीमतीले श्रीमान्को हत्या गरे । कतै छोराले बाबुआमा त कतै छोराले बाबुको हत्या गरे । अनि कतै सालाले भिनाजुको त कतै छोरीबाट बाबुको हत्या भयो । अनि कतै सामान्य निहुँमा साथीबाट साथीको हत्यासमेत भयो ।

अपराधः १
श्रीमतीबाटै श्रीमान्को हत्या
गत जेठ ४ राति सुनसरीको इटहरी–१२ खनार घर भई विराटनगर मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै श्रीमती मीना श्रेष्ठले योजना बनाएर घरभित्रै हत्या गराइन् । देवी पाथीभरा फार्मेसीका सञ्चालक पति देवीप्रसादको सिरहाको लहान घर भई विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछ्यानमै हत्या गरे । सबैलाई प्रहरीले पक्राउ गरेर कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता ग¥यो । उनीहरू अहिले जेल चलान भएका छन् ।

अपराधः २
साथीबाटै साथीको हत्या
इटहरी–२० तरहरामा जेठ १८ गते सामान्य निहुँमा आफ्नै साथीभाइबाट २८ वर्षीय रादन राईको हत्या भयो । स्थानीय २० वर्षीय प्रज्वल तामाङ, १९ वर्षीय अभिषेक केसी र सोही स्थानका २३ वर्षीय अभिषेक पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बेलायतबाट बिदामा आएका साथी रादनको चक्कु प्रहारबाट हत्या गरे । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीका अनुसार तीनै जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

अपराधः ३
छिमेकीहरूले गरे हत्या
सुनसरीको वराहक्षेत्रमा आफ्नै साली सञ्जु राईको घरमा बस्दै आएका दमक घर भएका ३७ वर्षीय कमल राईको छिमेकीहरूले हत्या गरेका थिए । उनीहरूले राईको हत्या गरेर इक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गामा फालिदिएका थिए । प्रहरीले कमलको हत्यामा संलग्न सुनसरी वराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामीलाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । पूर्व रिसइबीको कारण योजनाबद्धरूपमा हत्या भएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्मा बताउँछन् ।

अपराधः ४
सालाले गरे भिनाजुको हत्या
सुनसरीको इटहरी–२० तरहरामा बस्दै आएका ४७ वर्षीय प्रितीलाल राईको खोटाङमा आफ्नै सालाहरू मिलेर हत्या गरे । खोटाङको केपिलासगढीमा आफ्नै भिनाजुको हत्या गर्ने खोटाङको केपिलासगढीमा बस्दै आएका २७ वर्षीय मिलन राई र उनका भाइ २० वर्षीय जीवन राई पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख नारायण चिमरियाले बताए । कर्तव्य ज्यान कसूरमा १० वर्ष जेल सजाय भोगेर तरहरामा बस्दै आएका प्रितीलाल खोटाङ गएका बेला चिर्पटले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

लकडाउन शुरु भएयता सुनसरीमा मात्र होइन, प्रदेश १ का विभिन्न ठाउँमा आफन्तबाटै १२ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मोरङको विराटनगर–१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानको उनकै दुई छोरा रोहित चौहान र नागेन्द्र चौहानले हत्या गरि घरभित्रै गाडे । उनीहरूलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ ।

सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का सन्तकुमार राईको आफ्नै छोरा कुवेर राईले हत्या गरे । आगो फुक्ने ढुङ्ग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । त्यस्तै प्रदेश १ को तेह्रथुममा आफ्नै छोराबाट एक दम्पतीले ज्यान गुमाउनु परेको छ । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिकाका कञ्चन लिम्बूले बाबु रूपबहादुर लिम्बू र आमा रूपेनी लिम्बूको बञ्चरो प्रहार गरी हत्या गरे ।

त्यस्तै मोरङमा अवैध सम्बन्धबाट गर्भ रहेपछि १७ चैतमा ३८ वर्षीया महिलाले नवजात शिशुलाई शौचालयमा जन्म दिए पनि आफ्नो कर्तुत लुकाउन शिशुको हत्या गरी शवलाई खोलाको किनारमा फालेकी थिइन् । धनकुटा छथरजोरपाटी पानीट्याङ्की बस्ने धनमाया लिम्बूले श्रीमान् इन्द्रबहादुर लिम्बूलाई घरेलु हतियार तथा लाठीले टाउकोमा प्रहार गरी हत्या गरेकी थिइन् । त्यस्तै खोटाङ बाह्रपोखरीकी मेनुका राईले आफ्नै श्रीमान् कुमारको हत्या गरेकी थिइन् ।

उदयपुरको रौतामाई गाउँपालिकाका विष्णु तामाङले श्रीमती दिलमाया तामाङको हत्या गरे । दिलमायालाई खुर्पाले टाउको र संवेदनशील अङ्गमा प्रहार गरेर हत्या गरेका थिए । इलामको देउमाई नगरपालिका शान्तिडाँडामा शुष्मा राईले बञ्चरो प्रहार गरी आफ्नै बुबा फुलबहादुर राईको हत्या गरेकी थिइन् । मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले जेठ १५ गते बिहान साढे ११ बजे इँटा प्रहार गरेर आफ्नै आमा देवीकुमारी लिम्बूको हत्या गरे । त्यसपछि आफूले पनि चक्कुले घाँटी रेटेर आत्महत्या गरे ।

एक नम्बर प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले प्रदेश १ मा लकडाउनको समयमा अपराध बढेको बताए । प्रदेश १ मा सबैभन्दा बढी झुण्डिएर आत्महत्याको घटना बढेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै आफन्तबाटै आफन्तको हत्याको घटनासमेत बढेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।