धरान । घरायसी विवादको क्रममा आफ्नै भाइले दाजुको दाँत झर्ने गरी हिर्काएपछि घटनाले फरक रूप लिएको छ ।

अंशवण्डाको निहुँमा दिनहुँजसो झगडा गर्दै आएका धरान–१५ का दाजु बमबहादुर र भाइ कुलबहादुर विक बीचको विवादले शुक्रबार ठूलै रूप लिएको हो । भाइ कुलबहादुरले तल्लो पट्टिको दाँत नै झर्ने गरी हिर्काएपछि घटना प्रहरीसामु पुगेको हो । दाजु बमबहादुरलाई कुटेको आरोपमा भाइ कुलबहादुर पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घरायसी झगडा भए पनि दाजुले निवेदन दिएकाले पक्राउ गरी कारबाही अगाडि बढाइएको बताए । उनले भने, ‘दिनहुँ झगडा हुँदो रहेछ, त्यही क्रममा आज पनि झगडा भएको रहेछ ।’ बमबहादुरको दाँत झरेपछि अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।