लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिकाको ‘जनता आवास कार्यक्रम’ मा अनियमितता भएको भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बेलबारीले सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत विपन्न घर परिवार घर निमार्ण गरिदिने कार्यक्रममा व्यापक अनियमितता भएको कांग्रेस र जनता समाजवादीले ठहर गरेको छ । बेलबारी नगरपालिका, साहारा नेपाल र ह्याबिटेड फर ह्युमानिटेड नेपालको संयुक्तमा बेलबारी–३, ४ र ११ नम्बर वडामा घर निर्माण भइरहेको हो । निर्माणाधीन घरहरू निर्माणमा प्रयोग गरिने सामग्री सम्झौता विपरीत कम गुणस्तरका प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विपन्नको नाममा आवास बन्ने कार्य ठीक भए पनि जिम्मेवार संस्थाबाट आर्थिक अनियमितता हुनु गलत कार्य भएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस नगर समितिका सभापति शम्भु भट्टराई र सचिव उपेन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

त्यस्तै समाजवादीका नगर अध्यक्ष तिलक राई र सचिव भरत चौधरीले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा सामग्री गुणस्तरहीन प्रयोग गरेर आर्थिक अनियमितता गर्न खोजिएको उल्लेख छ । यता बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले जनता आवास कार्यक्रममा एक रुपैयाँ पनि घोटला हुन नदिने बताएकी छन् ।

belbari_morang (1)