धरान । राष्ट्रियसभाले हिजो पारित गरेको संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् । दुवै सदनबाट बहुमतले पारित गरेको विधेयकलाई बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको विधेयक राष्ट्रियसभामा बुधबार पुगेको थियो । बिहीबार राष्ट्रियसभाको छलफलमा ५७ जना सदस्यले मतदान गरेका थिए । जबकि राष्ट्रियसभामा ५९ जना हुने व्यवस्था छ । एक सिट खाली रहेको राष्ट्रियसभामा अध्यक्षले मत लाउन नपाउने व्यवस्था छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अव संविधानको अङ्ग बनेको छ भने विधेयक राजपत्रमा पनि प्रकाशित हुने छ । सरकारले जेठ ७ गते भारतले मिचेको नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले नेपाली भूमि मिचेर चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपाल सरकारले चासोका साथ तीन वटा भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतले केही समय अघि नयाँ राजनीतिक नक्सा जारी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।