विराटनगर /  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरसलाई लखेट्न प्रदेश सरकारले ‘थ्रि टि’ को नीति लिएको बताएका छन् । मन्त्री घिमिरेले प्रदेशमा कोरोना भाइरस हटाउन ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्टको नीति लिएको बताएका हुन् । यी तीन माध्यमबाट हामीले कोरोनालाई लेखेट्दै आएको उनको भनाई छ ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट बिहीबार कोरोनालाई जितेर डिस्र्चाज भएका ४० जनालाई विदाई गर्दै मन्त्री घिमिरले प्रदेशमा कोरोना नियन्त्रण हुँदै गएको बताए । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उनले बताए । मन्त्री घिमिरेले क्वारेन्टाइनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने दाबी गरे ।

‘प्रदेश १ मा सामुदायमा संक्रमण छैन्,’ मन्त्री घिमिरेले भने, ‘सामुदायमा भएको संक्रमण उदयपुर र धनकुटामा थियो । त्यहा हामीले निमिटान्न बनाइसक्यो । अहिले विदेशबाट आएर क्वारेन्टाईनमा रहेका संक्रमण देखियो छ ।’ क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाई छ । प्रदेशवासीले चाँडै सुखद खवर सुन्न पाउने उनले बताए ।

मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गरिदै लैजाने मन्त्री घिमिरेले बताए । ‘सुरूमा कोडिभ १९ को बुझाइमा एकरुपता थिएन् । बढी क्रास हुनु स्वाभिक थियो । अहिले हामी चिन्दै गएका छौं,’ मन्त्री घिमिरेले भने, ‘उदयपुरको झुल्केबाट प्रदेश १ मा कोरोना प्रवेश गरेको थियो । त्यहीबाट कोरोनालाई लखेटने नीति प्रदेश सरकारले लिएको छ ।’