धनकुटा/ धनकुटाकी १३ वर्षीया दलित बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

पुर्पक्षका लागि थुनामा परेकाहरू दलित बालिकालाई लामो समयदेखि यौन शोषण गरेको आरोपमा वैशाख २७ गते शनिबार पक्राउ परेका थिए । जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरूलाई जिल्ला अदालत धनकुटामा गत बिहीबार भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको अदालत स्रोतले जनाएको छ ।

अदालतमा भएको थुनछेक बहसमा प्रतिवादीहरूले आ–आफ्नो कानून व्यवसायीमार्फत् बहस पैरवी गरेका थिए । वादी पीडित बालिकाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय धनकुटाका जिल्ला न्यायाधीवक्ता कृष्णबटु भण्डारीले बहस गरेका थिए । वादी र प्रतिवादीको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश फणिन्द्र पराजुलीले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका हुन् ।

बालिकाका आफन्तले किटानी जाहेरी दिएको आधारमा धनकुटा नगरपालिका वडा नं. ६ सिरान बजारमा रहेको गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । पुर्पक्षको लागि थुनामा धनकुटा नगरपालिका वडा नंं.६ का गौरी अत्री, भीमनारायण चोकका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर परेका हुन् । शिक्षक मदन अधिकारीलाई वैशाख २७ गते शनिबार पक्राउ गरिएको थियो भने अन्य ३ जनालाई वैशाख २६ गते शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चारै जनालाई किटानी जाहेरीको आधारमा नियन्त्रणमा लिइएको र छुट्टाछुट्टै मिसिल उठाएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले जानकारी दिएका छन् । चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलग–अलग नै दर्ता गरिएको श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार वादी प्रतिवादी दुवै पक्षको साक्षी बकपत्र भएपछि अदालतले दण्ड, सजाय र जरिबानाको फैसला गर्ने बताए ।

धनकुटा आत्माराकी ती बालिकामाथि शिक्षक अधिकारीसहित चारै जनाले लामो समयदेखि यौन शोषण गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । ती बालिकाको पेट बढ्दै गएको देखिएपछि परिवारले केरकार गर्दा आफूमाथि ललाई–फकाई यौन शोषण गरेको बताएपछि परिवारले थाहा पाएका थिए । परिवारले उनीहरूविरुद्ध किटानी जाहेरी दिएको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बालिकाको स्वास्थ्य जाँच गर्दा ६ महिनाको गर्भ रहेको रिपोर्ट आएको छ । बालिकालाई पुनस्र्थापना केन्द्र धनकुटामा राखिएको छ भने प्रहरीले चारै जनालाई जबर्जस्ती करणी महल अन्तर्गत कारबाही पक्रिया अगाडि बढाएको थियो ।