विराटनगर/ विराटनगर–१४ झटियाहीमा बाबुको हत्या आरोपमा पक्राउ परेका दुई जना छोरालाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजलासले विराटनगर–१४ झटियाहीका २१ वर्षीय मुन्ना भनिने रोहित र १९ वर्षीय नागेन्द्र चौहानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । जेठा छोरा मुन्ना र माइला छोरा नागेन्द्रले फरुवा प्रहार गरी ६९ वर्षीय सत्यराम चौहानको जेठ ३ गते राति हत्या गरेपछि आफ्नै घरभित्र गाडिएको अवस्थामा जेठ ७ गते साँझ शव फेला परेको थियो ।

प्रहरीले सोही दिन दुवै छोरालाई पक्राउ गरी अनुसन्धानको क्रममा मदिरा सेवन गरी बाबुको हत्या गरेको स्वीकार गरेका थिए । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अनुसन्धान प्रक्रिया पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा शुक्रबार दुई जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता भएको थियो । दुवै जना प्रतिवादीको अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको हो ।

थुनछेक बहसमा वादीको तर्फबाट सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरेका थिए । वादी र प्रतिवादीको बहस सकिएपछि दुवै प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्न अदालतले सोमबार आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ को दफा ६७ बमोजिम थुनुवा पुर्जी दिई दुवै प्रतिवादीलाई विराटनगर कारागार पठाउन आदेश आएको उनले बताए । अदालतको आदेशपछि दुवै प्रतिवादी कारागार चलान भएका छन् ।

जन्म कैदसहितको मागदाबी
जिल्ला सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्दामा बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जना छोराहरूलाई जन्मकैदको मागदाबीसहित अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले जानकारी दिए । अपराध संहिता २०७४ को दफा १७७ (१) बमोजिमको कसूरमा ऐ. संहिताको दफा १७७ को उपदफा (२) बमोजिम जन्मकैदको माग दाबी गरेर अभियोग अदालतमा दर्ता गरिएको उनले बताए ।

मदिराको नशामा लठ्ठिएका रोहित र नागेन्द्रले टाउकोमा कोदालो प्रहार गरी बाबुको हत्या गरेका थिए । दुवैले पैसाको विषयमा विवाद हुँदा हत्या गरेको स्वीकार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । बाबुले ज्याला मजदुरी गर्ने जेठो छोरासँग पैसा मागेपछि आवेगमा आएर दुई छोराले फरुवा प्रहार गरी बाबुको हत्या गरेका थिए । हत्या गर्ने योजना नबनाएको भए पनि मदिराको नशामा लठ्ठिएपछि आवेगमा आएर हत्या गरेको उनीहरूले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । हत्यापछि बाबुको शव घरभित्र चार फिट गहिरो खाडल खनेर गाडेका थिए ।