यासोक । ‘आत्महत्या दुरूत्साहन’ को आरोपमा तेह्रथुमको लालीगुँरास नगरपालिका शिक्षा शाखा प्रमुख रामकृष्ण निरौला पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय वसन्तपुरमा उनीविरुद्ध किटानी निवेदन परेपछि पक्राउ परेका हुन् । लालीगुँरास नगरपालिका–८ सोल्माका ३४ वर्षीया कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध जेठ २९ गते मृतक दाहालका दाजु खेमप्रसादले किटानी निवेदन दर्ता गराएका थिए ।

जेठ २९ गते रुखमा झुण्डिएको अवस्थामा फेला परेका दाहाल अघिल्लो दिन साँझ रामकृष्णसँग मोबाइलमा वादविवाद भएको थियो । वादविवादका क्रममा रामकृष्णले कुवेरलाई विभिन्न आरोप लगाएका थिए । सोही कारणले आत्महत्या गरेको दाबी गर्दै परिवारले रामकृष्णविरुद्ध मुद्दा दर्ता गराएका थिए ।