भद्रपुर / झापामा शुक्रबार थप १३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने उपचारपछि निको भएर १०३ जना घर फर्किसकेका छन् ।
कचनकवल गाउँपालिकामा ११ जना र बाह्रदशी गाँउपालिकामा २ जना सङ्क्रमित शुक्रबार थपिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । जिल्लामा सङ्क्रमितको सङख्या १६९ पुगेको छ ।
कचनकवलको लक्ष्मी मावि बनियानी क्वारेन्टाइनमा बसेकामध्ये ७ जना र महेन्द्ररत्न मावि केचनाको क्वारेन्टाइनमा बसेकामध्ये ४ जना सक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । गाउँपालिका वडा नम्बर १, ५ र ६ का एक÷एक जना, वडा नम्बर ४ मा ८ जना रहेका छन् ।
उनीहरुको उमेर १५ देखि ४९ बर्षसम्मका सबै पुरुष रहेको शाखा प्रमुख यादवले जानकारी दिए । उनीहरु सबै भारतको मुम्बई र दिल्लीबाट आएका हुन् । गाउँपालिकामा शुक्रबार आएको १५१ जनाको रिपोर्टमध्ये ११ जनामा पोजेटिभ र १४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या १२७ पुगेको छ । त्यस्तै बाह्रदशी गाउँपालिकामा थपिएका दुई जना सङ्क्रमित भारतबाट आएका हुन् । गाउँपालिका वडा नम्बर ५ बस्ने ३७ बर्षीय पुरुष र वडा नम्बर ३ का २७ बर्षीय पुरुष रहेका छन् । भारतबाट आएका उनीहरुलाई सीमाबाट उद्धार गरी सोजै पशुपति माविको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए । गाउँपालिकाले स्वाब सङ्कलन गरी पठाएको २६ जनामध्ये दुई जनामा पोजेटिभ र बाँकी सबैको रिपोर्ट नगेटिभ आएको उनले बताए ।
जिल्लामा हालसम्म गौरीगञ्ज १२ , कनकाईमा तीन, भद्रपुरमा तीन , अर्जुनधारामा दुई, गौरादह चार , दमक एक , मेचीनगरमा दुई, झापामा एक , बाह्रदशीमा ६ , बुद्धशान्तिमा पाँच , हल्दीबारीमा दुई, कमलमा एक जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।