धनकुटा/राप्रपा लोकतान्त्रिक जिल्ला समिति धनकुटाले एमसीसी विरुद्ध वुधबार साँझ धनकुटाको हिले बजारमा प्रदर्शन गरेका छन् ।

राप्रपा लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष लाक्पा तामाङको अगुवाइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गर्नुको साथै राष्ट्रघाती एमसीसी परियोजना खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

उनीहरूले पछिल्लो समयमा चर्चामा रहेको एमसीसी परियोजना नेपाली जनताको चाहाना भावाना विपरीत लागू गर्न खोजेको विरोधमा प्रधानमन्त्री केपि शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपका विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । राप्रपा लोकतानित्रकका केन्द्रीय अध्यक्ष लाक्पा तामाङले अगुवाइ गरेको प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले राष्ट्रघाती एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, कम्युनिष्ट सरकार चाहिँदैन, नेपाली जनता एक हौं, अमेरिकी साम्राज्यवाद मुर्दावाद, अमेरिकी राष्ट्रवाद मुर्दावाद, केपी ओली मुर्दावादलगायतका नारा लगाएका थिए ।

त्यसक्रममा कोणसभालाई सम्वोधन गर्दै राप्रपा लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष लाक्पा तामाङले अहिलेको कम्युनिष्ट सरकारले देशलाई एमसीसीको नाममा खोक्रो पार्न लागेको आरोप लगाए । उनले अहिलेको सरकार कम्युनिष्ट सरकार नभएर कमुनिष्ट सरकार भएको र एमसीसी परियोजना लागू गरेर देशलाई खोक्रो पार्ने दाबी गरे ।

यस परियोजनाले देश र जनताको हित नगर्ने यदि लागू भयो भने सोमालिया, कङ्गो र इथोपिया जस्तो गृहयुद्धमा फस्ने अध्यक्ष तामाङले दाबी गरे । उनले एमसीसी विरुद्ध एक हुन सम्पूर्ण नेपाली जनतालाई आह्वान गर्दै लागू हुन कुनै हालत दिन नहुनेमा जोड दिए । अन्यत्र एमसीसीविरुद्ध प्रदर्शन हुँदा प्रहरी हस्तक्षेप भए पनि धनकुटाको हिलेमा भने त्यो दृश्य देखिएन ।