धरान । प्रदेश सभामुख, सांसद् र सुरक्षा अधिकारीसँगको शनिबारको छलफलले धरानमा क्वारेन्टिनको क्षमता थप्ने निर्णयसँगै धरानका केही स्कुलहरूमा गरेको आग्रहलाई गलत तरिकाले बुझेकाे भन्दै धरानका मेयर तिलक राईले ‘क्वारेन्टिन’ धरानेको सुरक्षाका लागि नै भएको बताएका छन् ।

धरान उपमहानगरले हाल धरान–१७ स्थित एन्फा एकेडेमीलाई क्वारेन्टिन बनाएको छ तर, ५० भन्दा माथि क्षमता भएकाले थप क्वारेन्टिनको आवश्यकता रहेको महसुस गर्दै कम्तीमा १५० क्षमताको क्वारेन्टिन थप्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार धरान–१५ नवज्योती स्कुलमा क्वारेन्टिनका लागि नगरपालिकाले आग्रहसहितको पत्र पठाएको थियो । पत्र प्राप्त भएको जानकारी पाउनेबित्तिकै स्थानीय र सम्बन्धित टोल विकास संस्था (टिएलओ) का प्रतिनिधि साथै विद्यार्थीहरूले दिन नहुने अडानसहितको ज्ञापन पत्र स्कुलका प्रिन्सिपललाई बुझाएको थियो ।

nawajoti_dharan

सो अवरोधपछि धरान उपमहानगरका मेयर राईले क्वारेन्टिन धराने जनताको सुरक्षाको लागि नै भएको बताएका हुन् । उनले भने, ‘भोलि तपाईं हाम्रै मान्छे विदेशबाट आयो, उसलाई सिधै घर पठाउने कि क्वारेन्टिनमा राखेर पठाउने ? कम्तीमा भाइरस संक्रमण नहोस् भनेर नै क्वारेन्टिन बनाइने हो ।’ उनले स्थानीयबासी, टिएलओ र विद्यार्थीहरू सबैले यस विषयमा गम्भीर भएर बुझेर काम गरिदिन आग्रह गरे ।

धरानबाट विभिन्न खाडी मुलुकसँगै बेलायत, हङकङ, ब्रुनाईलगायतका देशमा रहेका छन् । उनीहरूमध्ये कतिपय देशबाट नेपाली नागरिकहरू नेपाल आउन चाहेका छन् । त्यसमध्ये कतिपय धरानकै पनि आउने भएकाले उनीहरूलाई लक्षित गर्दै क्वारेन्टिन बनाउन लागिएको मेयर राईले बताए तर, टिएलओ, स्थानीय अभिभावक र विद्यार्थीहरूले स्कुललाई ज्ञापन पत्र बुझाउँदै स्कुललाई क्वारेन्टिनका लागि नदिन आग्रह गरेका थिए ।

स्थानीयबासी तथा स्कुलका शिक्षकसमेत रहेका बेद सुब्बाले भने, ‘अभिभावक, स्थानीय, विद्यार्थी सबैले यहाँ हुँदैन भनेर ज्ञापन पत्र बुझाएका छन् । स्कुल नजिकै गाउँबस्ती रहेकाले पनि यहाँ उपयुक्त हुँदैन भन्ने हाम्रो बुझाइ हो ।’ धरान उपमहानगरले २५ गते क्वारेन्टिनका लागि स्कुल माग गरेको पत्रअनुसार नै स्थानीयहरूले दिन नहुने भन्दै ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा झण्डै एकसय भन्दा बढीले हस्ताक्षर गरेका छन् ।

स्कुलमा कतिपय शिक्षिका तथा प्रिन्सिपल पनि आवासीय रूपमा बसोबास गर्दै आएकाले पनि त्यहाँ उपयुक्त नहुने आशिष प्याकुरेलको तर्क छ । उनले ज्ञापन पत्रमा हस्ताक्षर गर्दै कतिपय सिस्टर र प्रिन्सिपल पनि त्यही बसोबास गर्ने भएकाले पनि दिन नहुने उल्लेख गरेका छन् । विद्यार्थीहरूले पनि त्यसै गरी ज्ञापन पत्र बुझाएका हुन् तर, धरान उपमहानगरका मेयर राईले विदेशबाट आएकाहरूलाई राख्दा त्यहाँ पूर्ण सेनिटाइज गरेर राख्ने भएकाले कोही पनि नआत्तिनका लागि आग्रह गरे ।

‘यहाँ पनि हुँदैन, त्यहाँ पनि हुँदैन भने कहाँ राख्ने त हाम्रा मान्छे’–उनले भने, ‘हामी तपाईंहरूलाई नै सोध्छौं, त्यसो भए कहाँ राख्ने ? भोलि तपाईंका, हाम्रा र उहाँहरूकै आफन्त आउँलान् त्यो अवस्थामा के गर्ने ? कम्तीमा अहिलेदेखि नै सुरक्षित हुने कि नहुने ?’