धरान । सरकारले नेपाल फर्किन चाहने विदेशमा रहेका नेपालीलाई ल्याउने तयारी थालेसँगै धरान उपमहानगरले क्वारेन्टिन (होल्डिङ एरिया) को क्षमता बढाउने निर्णय गरेको छ ।

हाल धरान–१७ मा रहेको एन्फा एकेडेमीको क्वारेन्टिन क्षेत्र अपुग हुने निश्कर्ष निकाल्दै कम्तीमा पनि २ सय क्षमताको क्वारेन्टिन बनाउने शनिबार बसेको छलफलले निर्णय गरेको हो । प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीसहित प्रदेश सांसदद्वय उमिता बराइली र चन्द्रप्रसाद श्रेष्ठ, सुरक्षा प्रमुख, प्रमुख जिल्ला अधिकारी, धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघलगायतको छलफलले क्वारेन्टिनको क्षमता बढाउने निर्णय गरेको धरान उपमहानगरका नगर प्रमुख तिलक राईले जानकारी दिए ।

हाल रहेको क्वारेन्टिनको क्षमताले मात्रै नपुग्ने भए पछि केही क्षमता थप्ने निर्णय भएको उनले बताए । एन्फा एकेडेमीको क्वारेन्टिनको क्षमता ६० बताइए पनि ५० भन्दा माथि मात्रै राख्न सकिने देखिएको नगर प्रमुख राईले बताए । ‘त्यतिले मात्रै पुग्दैन भन्ने महसुस भयो, सरकारले विदेशबाट मान्छे ल्याउने तयारी गर्दैछ, त्यो भएको हिसाबले क्वारेन्टिन बढाउनुपर्छ भन्ने निर्णय भएको छ’ नगर प्रमुख राईले भने, ‘कम्तीमा पनि १५० भन्दा माथि बनाउने भन्ने कुरा छ । अहिले खाली स्थानहरूको खोजी थालेका छौं, उपयुक्त स्थानमा क्वारेन्टिन निर्माण गरिने छ ।’

त्यस्तै छलफलमा लकडाउनको मोडालिटी, क्वारेन्टिनको सुरक्षालगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा जिल्ला प्रशासनका प्रजिअ राजेश पौडेल, जनपद प्रहरीबाट जिल्लाका एसपी, सशस्त्र प्रहरीका एसपी, इलाका प्रशासन कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै तीन बजेको अर्को बैठकमा धरान उपमहानगरपालिकाले लकडाउनमा व्यापार व्यवसाय सञ्चालन गर्ने विषयमा पूर्वमेयर मनोजकुमार मेन्याङ्बोको संयोजकत्वमा बनेको चार सदस्यीय समितिले दिएको प्रतिवेदनमाथि छलफल गर्दै दुई सिफ्टमा धरानको बजार खोल्ने निर्णय भएको छ । प्रतिवेदनमाथि सुनसरी उद्योग वाणिज्य संघ र धरान उपमहानगरपालिका बसेर ६ बजेदेखि ९ बजेसम्म र ९ देखि २ बजेसम्म गरी दुई सिफ्टमा पसल खोल्न दिने निर्णय भएको हो ।

चाँडै बिग्रिने बस्तुहरू र उपभोग्य वस्तुहरू बिहान ९ बजेसम्म र अन्य प्रकृतिको पसलका लागि ९ बजेदेखि २ बजेसम्म खोल्न दिने निर्णय भएको सुनसरी उवासंघका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । ‘चाँडै कुहिने चिजहरू जस्तै माछा, मासुलगायत सब्जीका पसलहरू ९ बजेसम्म खुल्न दिने भन्ने छ, अन्य प्रकृतिलाई ९ देखि २ बजेसम्म दिने भन्ने भएको छ’–उनले भने । उनका अनुसार यो कुनै लिखित निर्णय नभई व्यवहारिक हिसाबमा मात्रै चल्ने निर्णय भएको हो ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउन जारी राखेको छ । सरकारको लकडाउनलाई मध्यनजर गर्दै हाल भएको व्यवहारिक खुलापनलाई परिवर्तन गर्न सकिने नगर प्रमुख राईले बताए ।