धरान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च नेपालले रुकुम पश्चिम चौरजहारीमा भएको हत्याका विषयमा धरानको भानुचौकमा श्रद्धाञ्जली तथा खबरदारी सभा गरेको छ ।

शुक्रबार मञ्चले भानुचौकमा चौरजहारी नगरपालिकामा भएको घटनामा ज्यान गुमाएका ६ जनाको नाममा श्रद्धाञ्जली अर्पण गरेका छन् । चौरजहारी घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित टीकाराम सुनार, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द साहीको हत्या भएको थियो । दलित भएकै कारण हत्या गरिएको भन्दै इलाका प्रशासनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

त्यसक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई सरकारले नयाँ नक्सामा समेटेको भए पनि संविधान संसोधन गरेर नक्सासँगै आफ्नो भूमि पनि फिर्ता ल्याउन पहल गर्नुपर्ने खबरदारी सभामा उपस्थित नेताहरूले आग्रह गरे । खबरदारी सभामा मञ्चका मञ्चका केन्द्रीय सचिव एबी पन्धाक, प्रान्तीय सचिव पूर्णकला तेयुङ, दलित शिल्पि मञ्चका केन्द्रीय अध्यक्ष रमेश गजमेर र नगर अध्यक्ष सञ्जुहाङ साँवाले बोलेका थिए । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले कार्यक्रमको संयोजन गरेका थिए ।