धरान । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा हत्यामा जातीय विभेदसम्बन्धी कसूरमा कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार इलाका प्रशासन कार्यालय धरानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । दलित भएकै नाममा भएको हत्या आगामी दिनमा फेरि नदोहोरिन दिनका लागि संविधान संसोधनको माग गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र जिल्ला अध्यक्ष अमर इजमद्वारा हस्ताक्षरित विज्ञप्तिमा दलित समुदायमाथि पुनः घटना दोहोरिन नदिनका लागि संविधान संसोधन गर्दै दलित शिल्पी गैर भौगोलिक प्रान्त स्थापना गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

चौरजहारी घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित टीकाराम सुनार, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द साहीलाई बेपत्ता बनाएका थिए । त्यस्तै लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नयाँ नक्सा समावेश गर्नका लागि सरकारले संविधान संशोधन गर्ने तयारी गरेकोमा स्वागत गर्दै मञ्चले विगतदेखि आन्दोलन गर्दै आएको १० प्लस १ अनुसार लिम्बुवान, खम्बुवालगायतको भौगोलिक प्रान्त हुने गरी संविधान संसोधन गर्न माग गरिएको अध्यक्ष इजमले जनाए ।

हाल चलिरहेको एमसीसीका विषयमा जनतालाई प्रष्ट हुने गरी श्वेतपत्र जारी गर्न माग गरिएको छ । सोही श्वेतपत्रका आधारमा नेपाली जनताको राय लिँदै निर्णय लिन भनिएको छ । सीमा विवाद, कोरोना महामारी, जातीय विभेद सम्बन्धी हत्या, मातृभाषा र मञ्चको १० प्लस १ को सवालका विषयमा पनि तत्काल गोलमेच सम्मेलन गर्न माग गरिएको छ ।