भद्रपुर / झापाका क्वारेन्टाइनमा बसेका थप पाँच जनामा कोरोना स‌‌क्रमण पुष्टि भएको छ । जिल्लाको बुद्धशान्ति गाउँपालिकाको बुद्ध आदर्श माविका क्वारेन्टाइनमा बसेकामध्ये बुद्धाशान्तिका एक जना, तीन जना ताप्लेजुङ र एक जना पाँचथरको रहेको स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य अधिकृत जीवन चौलागाइले जानकारी दिए ।

पोजेटिभ हुनेहरुमा ताप्लेजुङका ४०, १८, १८ वर्षका तीन पुरुष, पाँचथरका २० वर्षिय पुरुष र बुद्धशान्ति वडा नम्बर ४ का ३० वर्षिय पुरुष रहेको उनले जनाए ।

उनीहरू भारतको उत्तर प्रदेश राज्यको लखनऊबाट स्वदेश फर्किएका थिए । स्वदेश फर्किएका उनीहरूलाई बुद्ध आदर्शको क्वारेन्टाइनमा राखिएको र त्यहीबाट स्वाब सङ्कलन गरी पिसीआरका लागि धरान पठाइएको थियो । परीक्षण रिपोर्टमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो, भने ७९ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

बुद्धशान्तिमा भारतबाट आएका सोही गाउँपालिकासहित इलाम, पाँचथर र ताप्लेजुङका स्थानीयलाई पनि त्यहीकै क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा मङ्गलबार २३७ जनाको रिपोर्ट आएको हो । मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका विभिन्न जिल्लाका ११७ जना र कनकाई नगरपालिका क्वारेन्टाइनमा बसेका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताए ।