धरान । धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा खानेपानी संस्थान बोर्डमा नगाभिएको विषय उठेपछि कार्यपालिका बैठक स्थगित भएको छ ।

कोभिड १९ का विषयमा भएको पहिलो छलफल भने निर्णयमा पुगेको थियो । कोभिड १९ का विषयमा फ्रन्ट लाइनमा कार्यरत कर्मचारी, जनप्रतिनिधि, प्रत्यक्ष सरोकारवाला, ६० वर्षभन्दा माथि र बालबालिकाहरूको पीसीआर परीक्षण गरिने निर्णय भएलगत्तै अर्को विषय प्रवेश हुनेबित्तिकै बैठक स्थगित भएको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले ‘नदीजन्य पदार्थको उत्खनन’ का विषयमा प्रवेश गरेलगत्तै धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’ ले खानेपानीको विषय उठान गरेपछि निर्वाचित ८ जना कार्यपालिका सदस्य र वडाध्यक्षहरूले समर्थन गरेपछि बैठक अगाडि बढ्न सकेन ।

वडाध्यक्ष भट्टराईले खानेपानी संस्थान बोर्डमा हस्तान्तरणको प्रक्रिया हालसम्म अगाडि नबढेको भन्दै आवाज उठाएपछि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इङ्वारमले पनि समर्थन जनाएका थिए । त्यसपछि अन्य वडाका वडाध्यक्षहरूले पनि समर्थन जनाएका थिए । दोस्रो विषयमा प्रवेश गर्नुपूर्व नै खानेपानीको विषय उठान भएको धरान–९ का वडाध्यक्ष रत्न कट्वालले जानकारी दिए ।

नगर प्रमुख तिलक राईले फागुन मसान्तसम्म खानेपानी संस्थानलाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाँभ्ने प्रतिवद्धता गरेका थिए । फागुन २ र ३ गते भएको पाँचौ नगरसभाको क्रममा खानेपानी संस्थानलाई बोर्डमा गाँभ्ने भनेर प्रतिवद्धता जनाए पनि जेठको १८ गतेसम्म गाँभ्न कुनै पहल नभएपछि दोस्रो विषयमा प्रवेश नगरी नै बैठक स्थगित भएको उनले बताए । उनका अनुसार अहिले पनि नगर प्रमुखले खानेपानीको विषयमा अध्ययन गर्दैछु, बुझ्दै छु भन्दै जवाफ दिएका छन् ।

‘दोस्रो विषयमा छलफल हुनुपूर्व नै वडाध्यक्षज्यूहरूले खानेपानीको विषयमा कुरा उठाउनुभयो, खानेपानीको टुंगो नलागिञ्जेलसम्म दोस्रो निर्णयमा हामी जाँदैनौं भन्ने अडान लिइयो’–अध्यक्ष कट्वालले भने, ‘त्यसपछि बैठक अगाडि बढ्न सकेन ।’ कार्यपालिकामा मेयर, उपमेयरसहित ३० जना सदस्य रहने प्रावधान छ । शनिबार कार्यपालिका सदस्यहरूलाई सूचना नपुगेको भन्दै बैठक स्थगित गरिएको थियो ।

धरान–१७ का वडाध्यक्ष भट्टराईले आयोजनाका विषय जबसम्म मूर्तरूपमा पुग्दैन, तबसम्म कार्यपालिका बैठक बस्नुको कुनै अर्थ नहुने भनेर आफूले कुरा राखेको बताए । उनले धरानको बजेटका हिसाबले पनि प्रभाव पार्नेसँगै धराने जनताको जनजीवनसँग जोडिएको आयोजना भएकाले पनि यसविषयमा कुरा उठाइएको बताए । ‘‘के के बुझ्नुपर्ने हो, बुझ्नुस्, अध्ययन गर्ने कुरा गर्नुस् खानेपानी आयोजना संचालन गर्नुस् । ठेकेदारले उत्पादन गर्न सकेन भने अनि कुरा उठाउन सकिन्थ्यो, जबसम्म संस्थान खानेपानी आयोजनामा गाँभिदैन, तबसम्म बैठक बस्दैन, कुनै निर्णय पनि हुँदैन’–उनले भने ।

धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुुवेदीलाई कार्यपालिकाको बैठकबारे बुझ्दा धरानमा कोरोना परीक्षणको दायरा बढाउने पहिलो निर्णय भएको बताइन् । उनका अनुसार धरान उपमहानगरपालिकाले करिब ६ हजार थान स्वाब संकलनमा प्रयोग गरिने भिटिएमû (भाइरस कलेक्सट ट्रान्सपोर्ट किट) खरिद गर्ने भएको छ र, किट आइसकेपछि धरानमा परीक्षणको दायरा बढाइने बताइन् ।

उनलाई बैठक स्थगित भएको विषयमा बुझ्दा भनिन्, ‘बैठक स्थगित नै भएकोचाहिँ होइन, तर, कार्यपालिका सदस्यले नगरसभाको निर्णय हालसम्म किन कार्यान्वयन भएन, मर्ज किन भएन भनेर कुरा उठाएका हुन् । खानेपानीको मुद्दालाई टुग्याऔं भनेर कुरा उठेको हो ।’ यस विषयमा थप बुझ्नका लागि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई फोन गर्दा उनको सहयोगीले फोन उठाएका थिए । उनले केही समयपछि मेयरलाई जानकारी गराइदिने बताएका थिए ।