धरान । रुकुम पश्चिममा दलित युवकहरूको सामुहिक हत्याका विषयमा सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आफ्नी प्रेमिकालाई लिन पुगेका १९ जना युवामध्ये तीन जनाको शव फेला परेको छ भने अझै ४ जनाको बेपत्ता बनेको छ । ती चार युवाको खोजीका लागि खोताखोरको माग गरिएको छ । सरकारले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । मंगलबार राष्ट्रियसभामा सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा समिति गठन भएको जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा एसएसपी, अनुसन्धान विभागका अधिकृत, महान्यायाधीवक्ता कार्यालयका अधिकृत, र गृहमन्त्रालयका उपसचिवसमेत रहेका छन् । 

जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ नम्बरमा मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित १९ जनाको समूह त्यहाँ पुगेका थिए । केटी लाने पक्ष र विपक्षबीच झडप हुँदा ३ जनाको शव आइतबार र सोमबार फेला परेको थियो भने अन्य चार जना अझैं बेपत्ता रहेका छन् । त्यस घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । फेला परेका युवाहरूको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । यस घटनाको विषयमा सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।