धरान । पाकिस्तानमा ‘अनर किलिङ’ का नाममा आफ्नै बुबा र दाजुले दिदीबहिनीको हत्या गरेका छन् ।

हत्या आरोपमा बाबु र दाजुसहित तीन जनालाई पाकिस्तानी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनर किलिङको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सोही आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो ।

अनर किलिङ अर्थात् पारिवारिक इज्जतका निम्ति हुने हत्यालाई भनिने गरिन्छ । पाकिस्तानजस्ता देशहरूमा विभिन्न कारणले अनर किलिङ हुँदै आएको छ । अनर किलिङ भएको भिडियो एक युवाले खिँचेका थिए । उनलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । बिहीबार पख्तुनख्वा प्रान्तको उत्तरी वजिरीस्थानको दुगर्म आदिवासी क्षेत्रमा १६ र १८ वर्षीया दिदीबहिनीको हत्या गरिएको थियो ।

पाकिस्तानमा अनर किलिङको नाममा सयौं महिलाको हत्या हुने गरेको छ । केही समयअघि मात्रै साउदी अरबकी एक युवती आफ्नो देशबाट भागेकी थिइन् । उनलाई थाइल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय नियन्त्रणमा लिएर घर फिर्ता गर्ने प्रयास गरिएको थियो । ती युवतीले आफूलाई परिवारले मार्ने भन्दै सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेपछि उक्त समाचार विश्वभरका मिडियामा छाएको थियो ।

अन्तमा ती युवतीलाई क्यानडा सरकारले स्वीकार गर्दै आफ्नो देशमा बस्नका लागि अनुमति प्रदान गरेको थियो । उनी सरणार्थीको रूपमा त्यो देशमा बस्दै आइरहेकी छन् । कट्टर धार्मिक, सांस्कृतिकलगायत भएका देशहरूमा अनर किलिङ हुने गरेको छ । तर, यस्ता अपराधमा ती देशका व्यक्तिहरूले कानूनी सजाय पाएको कमै उदाहरणहरू छन् । पाकिस्तानमा विवाह, यौन सम्बन्धलाई लिएर अनर किलिङ हुँदै आएको छ ।

यसअघि सन् २०१६ मा सामाजिक सञ्जालमा चर्चित बनेकी कन्देल ब्लोचलाई आफ्नै दाजुभाइले हत्या गरेका थिए । उक्त हत्यापछि नै सरकारमाथि अनर किलिङप्रति कडा रूपमा प्रस्तुत हुनुपर्ने दबाव सिर्जना भएको थियो । घटनामा बुबा र दाजु पक्राउ परे पनि एक जना फरार छन् ।