धरान । प्रेस युनियन सुनसरीले जिल्लामा कार्यरत सक्रिय पत्रकारहरूलाई कोरोना महामारीलाई लक्षित गर्दै निःशुल्क बिमा गरिदिने भएको छ ।
बिमाका लागि आइएमई जनरल इन्स्युरेन्सबीच आइतबार विराटनगरमा सम्झौता भएको छ । प्रेस युनियन सुनसरीको तर्फबाट पवन अधिकारी र इन्स्युरेन्सका मार्केटिङ प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् । सुनसरी जिल्लामा रहेका सक्रिय १५० जना पत्रकारहरूलाई एक लाख रुपैयाँ बराबरको बिमा गरिदिने भएको सुनसरीका सभापति पवन अधिकारीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघसँग आवद्ध साथै सक्रिय पत्रकारहरूको जीवनरक्षाका लागि निःशुल्क बिमा गरिदिने भएको हो । कोरोना जोखिमको बेला फ्रण्टलाइनमा कार्यरत पत्रकारहरू कोरोनाबाट संक्रमित हुने सम्भावनालाई मध्यनजर गर्दै बिमा गरिदिने भएको हो ।
सम्झौताअनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिए एक लाख रुपैयाँ प्रदान गरिने छ । सभापति अधिकारी र रञ्जितकारबीच लिखितम सहमति आदानप्रदान गरेको छ । सभापति अधिकारीले सामान्य राहत किन्न समेत अप्ठ्यारो परिरहेको अवस्थामा यस बिमाले ठूलो टेवा पुग्ने र परिवारलाई समेत राहत हुने बताए । हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्यक्रम प्रेस युनियन सुनसरीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा सहभागी पत्रकार महासंघ प्रदेश १ का महासचिव बिवेक गौतमले युनियन सुनसरीले गर्न लागेको बिमाबाट जिल्लाका पत्रकारहरूले फाइदा लिने दाबी गरे । युनियन सुनसरी पत्रकारहरूको पेशागत हकहित एवम् सुरक्षाका विषयमा गम्भीर भएर उदाहरणीय कार्य गरेको महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइँटेलले बताए । कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुरलगायतको उपस्थिति रहेको थियो ।