धरान । भारतले आफ्नो दाबी गरिरहेको नेपाली भूमिहरूलाई समेटेर सरकारले नयाँ नक्सा बनाउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालका छुटेका भूमिलाई समावेश गरेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी हुन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हरकोले त्यसलाई प्राप्त गर्नका लागि ठोस कुटनीतिक पहल गरिने उल्लेख गरिन् । छुटेका नेपालका भूमि समावेश गरेर नयाँ नक्सा जारी गरिने जनाएकी हुन् ।

भारतले ६ महिना अगावै नेपालमा भूमिहरू समावेश गरेर राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । तर, सरकारले त्यसविषयमा ठोस कदम चाल्न सकेको थिएन । जसका कारण सरकार तीव्र आलोचित बनेको थियो । भारतले पुनः तिब्बतको मानवसरोवर पुग्ने सडक उद्घाटन गरेपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ ।
यतिसम्म कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नेदेखि लिएर नेपालका प्रम केपी शर्मा ओलीको पनि पुत्ला दहन गर्नेसम्मका विरोध कार्यक्रम भइरहेका छन् ।

तर, सरकारले शुक्रबार साँझ पेश गरेको नीति तथा कार्यक्रममा भारतले दाबी गरेको नेपालका भूमिलाई समावेश गरेर नयाँ नक्सा जारी गर्ने उद्घोष गरेसँगै राष्ट्रभक्त नेपालीहरूलाई राहत मिलेको छ । नेपालले अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षणमा प्रतिबद्ध रहेको नीति तथा कार्यक्रममा भनिएको छ ।