धरान । धनुषा जिल्लाको सबैला नगरपालिकाको कार्यपालिका बैठकमा भ्रष्टाचारको विषयमा उठेपछि दुई पक्षबीच कुर्सी हानाहानको स्थिति सिर्जना भएको छ ।
नगरपालिकाले कोरोना भाइरसबाट जोगिनका लागि निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थापनको आवश्यक बजेट जोहो गर्ने विषयमा भएको बहसमा भ्रष्टाचारको कुरा उठेपछि दुई पक्षबीच हानाहानको स्थिति सिर्जना भएको हो । नगरपालिकाले चैत १४ गतेदेखि क्वारेन्टाइन सञ्चालनमा ल्याएको थियो । नगर प्रमुख विजयशंकरप्रसाद साहलाई लक्षित गर्दै उपप्रमुख निलुदेवी कापरले भ्रष्टाचार गर्ने भन्दै चर्को आलोचना गरेपछि दुईबीच विवाद सुरु भएको थियो । उपप्रमुख कापरले ‘बाहिर इमान्दारिताको भाषण गर्ने र भित्रभित्रै लुट्ने ?’ भन्दै प्रश्न गरेपछि विवादले चर्को रूप लिएको थियो ।
कापरले नगरप्रमुखलाई लक्षित गर्दै भ्रष्टाचार गरेको आरोप लगाएकी थिइन् । उनले क्वारेन्टाइनको आडमा पनि भ्रष्टाचार गरेको आरोप लगाइन् । जसका कारण नगर प्रमुख पनि आक्रोसमा आएका थिए । नगर प्रमुख आफूमाथि जाइलाग्न खोजेपछि उपप्रमुख कापरले बसेको कुर्सी उचालेर मेयरमाथि प्रहार गर्न खोज्दा एक कार्यपालिका सदस्यले रोकेकी थिइन् । उनीहरूबीच तल्लो स्तरमै गालीगलौज भएको कार्यपालिका बैठकमा सहभागी एक सदस्यले बताए ।