धरान । इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि इटहरी उपमहानगरले प्रदेश १ सरकारलाई माग गरिएको छ ।
नगरको स्वामित्वमा रहेको इटहरी अस्पतालको सेवा स्तरोन्नति र सुदृढीकरणको लागि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसमक्ष माग गरिएको हो । प्रदेश सांसद् लिलम बस्नेतको नेतृत्वमा गएको टोलीले माग पेश गरेको छ ।
इटहरी अस्पतालको आकस्मिक इञ्चार्ज रामकुमार धमलाले आगामी आर्थिक वर्षको बजेटमा अस्पतालको स्तरोन्नतिलार्ई समेट्न अनुरोध गरिएको बताए । आगामी वर्षको बजेट डेढ करोड छुट्याइदिन अनुरोध गरिएको छ । मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताए ।
कोरोना संक्रमणको अहिलेको अवस्थामा समेत इटहरी अस्पतालले कोभिड १९ को परीक्षण, फिभर क्लिनिक संचालन, क्वारेन्टाइन व्यवस्थापन, २४ घण्टा इमर्जेन्सी र डेलिभरी सेवालगायत स्वास्थ्य बिमा सेवाहरू निरन्तर दिइरहेको छ । बिरामीको चापलाई हेर्दा अस्पतालको स्तरोन्नति आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले बताए ।
डेलिगेशनमा प्रदेश सांसद् लिलम बस्नेत, अस्पताल सचालक समिति अध्यक्ष भूपेन्द्र बराल, संचालक समिति सदस्य सञ्जीव खड्का, अस्पतालको निमित्त सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्मा र इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलालगायत सहभागी रहेका थिए ।