धरान । भक्तपुरका कोरोना संक्रमित देखिएकी महिला सुनसरीको रामधुनी–४ लालपुरमा आएर फुपूको घरमा बसेको खुलेको छ ।
उनी लकडाउन अगाडि नै फुपूको घरमा आएर बसे पनि तीन दिनअघि मात्रै उनी भक्तपुर गएकी थिइन् । भक्तपुर अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत रहेकाले अस्पतालले बारम्बार आउनका लागि ताकेता गरेपछि उनी सरकारी पास लिएको मोटरसाइकलमार्फत् भक्तपुर पुगेकी थिइन् । अस्पतालमा डिउटी सुरु गर्नुपूर्व स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ देखिएको रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।
‘लकडाउन अगाडि नै फुपूको घरमा आएको रहेछ, स्टाफ नर्स भएकाले अस्पतालले ताकेता गरेपछि तीन दिन अगाडि फर्किएको पाइयो, त्यहाँ ज्वाइन हुनुभन्दा अगाडि जाँच गर्दाचाहिँ पोजेटिभ देखिएछ’ उनले टेलिफोन सम्पर्कमा भने । उनको घर पनि भक्तपुरतिरै रहेको बताइन्छ । तर, उनी मध्यपुर ठिमीमा भाडाको घरमा बस्दै आएकी थिइन् ।
कोरोना संक्रमण भएको देखिएपछि फुपूको सबै परिवारको स्वाब संकलन गर्न सुरु गरिएको प्रमुख चौधरीले जानकारी दिए । ‘५–६ जनाको परिवार रहेछन्, सबैलाई जाँचका लागि पठाइसकेका छौं’–उनले भने । प्राइभेट अस्पतालमा काम गर्ने स्टाफ नर्स भएकाले जाँच गर्दा मात्रै खुलेको बताइएको छ । उनको सम्पर्कमा आएको मोटरसाइकलवालालाई पनि जाँच गर्ने तयारीमा रहेको छ ।