धरान । भक्तपुरमा कोरोना संक्रमित देखिएकी महिला झुम्कामा तीन दिनसम्म बसेको अनुमान गरिएको छ ।

उनी भक्तपुरबाट सरकारी पास भएको सवारीमा झुम्का आएको र झुम्काबाट दुईतीनदिन बसेर पुनः फर्किएको रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले अनुमान गरेका छन् । तर, झुम्का कहाँ कसलाई भेट्न आएकी थिइन् भन्ने खुल्न नसकेकाले प्रत्येक घरहरूमा सोधखोज जारी रहेको उनले बताए । ‘हामी सर्चमा लागेका छौं, कहाँ, कसकोमा आएर फर्किएकी हुन् भन्ने विषयमा अहिले सबैतिर चासो भइरहेको छ, एकढेड घण्टामा केही कुरा आउँछ’–उनले टेलिफोन सम्पर्कमा भने ।

उनका अनुसार मोटरसाइकलमा झुम्का आएर बसेर फर्किएको देखिएको छ । अहिले झुम्काबासी जसको काठमाडौं, भक्तपुरतिर घर छन्, उनीहरूको आफन्त र घर पत्ता लगाउने काम भइरहेको छ । ‘दुईतीन दिन बसेर फर्किएको सम्म खबर आएको छ, झुम्काभरि खोजतलास हुँदैछ । सम्पर्कमा रहेका प्रत्येक घर सर्च भइरहेको छ’–उनले भने ।

उनी भक्तपुरको मध्यपुर ठिमीमा भाडामा बस्दै आएकी थिइन् । लकडाउनको समयमा सरकारी पास लिएर सुनसरीको झुम्काबाट भक्तपुर पुगेको पहिलोपोष्टले समाचार लेखेको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमाकला पाण्डेले सुनसरीबाट सरकारी पास लिएको गाडीमा भक्तपुर प्रवेश गरेको देखिएको बताएकी छन् । भक्तपुरमा दुई जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित महिलाको दुई दिनअघि मात्रै थ्रोड स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

ती महिलालाई राति नै टेकु अस्पतालमा पु¥याइएको छ । महिला बस्ने घर पूर्णरूपमा शिल गरिएको छ भने उनको कन्ट्याक्टमा आएकाहरूको पनि खोजी भइरहेको छ । महिलालाई नै सोधेपछि मात्रै सबै कुरा खुल्ने भएको छ । कसले मोटरसाइकलमा ल्याएर आएको थियो भन्ने विषयमा पनि अहिले खोजी भइरहेको प्रमुख चौधरीले जानकारी दिए ।