धरान । गर्मी छ, सोच्दै हुनुहुन्छ होला, पौडी खेल्न पाए त ! आजको दिनमा तपाईं पौडी खेल्न पनि सहज पाउनुहुन्न । किनकि कोरोना महामारीका कारण देशमा लकडाउन छ । स्विमिङ पुलहरू बन्द छन् । खोलाखोल्सीमा पनि खेल्ने अवसर सायदै पाइन्छ यो बेला ।

अझ धरानमा हुनेहरू त पौडी कल्पना बाहिरको कुरा हो । धरानका दुईतिर सेउती र सर्दु खोला दुवै बर्खाबाहेक अन्य बेला बालुवामा मात्रै टल्किन्छन् । बालुवामा पौडिने कुरै भएन । तर, तपाईं वि.सं. २०१०–११ सालतिरको युवा वा केटाकेटी हुनुहुन्थ्यो भने मज्जाले पौडिने अवसर पाउनुहुन्थ्यो । तपाईं माछाजस्तै पानीभित्र सयर गर्नुहुन्थ्यो । घरि डुबुल्की मार्नुहुन्थ्यो, घरि डल्फिनजस्तै उफ्रिनुहुन्थ्यो । आफूलाई डल्फिन झै महसुस गर्दै घरि यता घरि उता गर्दै जम्पिङ गर्नुहुन्थ्यो । सायद, अरूले तपाईंलाई हेरेर खुबै आनन्द लिन्थे । अनि अरू पनि तपाईंसँग डुबुल्की मार्न आइपुग्थे र सबैजना आनन्द मान्दै खेल्नुहुन्थ्याे । 

यस्तो अवसर त्यो बेला मात्रै पाउनुहुन्थ्यो, जतिबेला धरान-१ काे रूप्से पोखरी थियो । करिब एक कठ्ठा जमिनमा फैलिएको त्यो रूप्से पोखरीमा आजकाे दिनमा डुबुल्की मार्ने धरानेहरू सायदै होलान् । जहाँ स्वर्गबाट देवताहरू नै आएर नुहाएर फर्किने गरेको मिथक पनि छ । भारतको गंगा सागरमा नुहाउन नगएर देउदेउताहरू रूप्से पोखरीमै आएर नुहाएर फर्किन्थे रे । त्यो बेला तपाईंले पोखरीको डिलमा बसेर देवीदेउताहरू नुहाएको आनन्द लिनुहुन्थ्यो । साक्षात् भगवान्लाई आँखै अगाडि देखेपछि तपाईं मोहित नहुने त कुरै भएन । निलो पानीमा देवीदेउताको जलक्रिडा हेर्दा कसैले देख्ला कि भनेर तपाईं यताउति चिहाउनुहुन्थ्यो । तर, कोही नदेखेपछि निस्फिक्री हेर्नुहुन्थ्यो ।

rupse_pokhari_dharan_two

रूप्से पाेखरीकाे पश्चिम तर्फकाे माेहाेडा । जहाँबाट विजयपुर क्षेत्र प्रवेश गर्ने सडक छ ।

खोक्दै कोही मानव आइपुगे, त्यहीँ रूप्से पोखरीको डिलमा छलिएर लुक्दै देउदेउताको क्रिडालाई हेर्ने प्रयास गर्नुहुन्थ्यो । तर, त्यही बेला देउदेउता हराउँदा मन खिन्न बनाउँदै त्यो खोक्ने मानवलाई धिक्कार्दै गाली गर्नुहुन्थ्यो, ‘यही बेला आएर मरेछ ।’ बेलुका भएपछि रूप्से पोखरीका डिलडिलमा जंगली जनावरहरूको अर्को क्रिडा सुरु हुन्थ्यो । पूर्णिमाका बेला जुनको टहटहमा खरायोको जत्था भेला हुन्थे । खरायोहरू विभिन्न आकृतिमा नाचिरहेका देखिन्थे । त्यो हेरेर त्यसबेला धरानेहरूले खुबै मनोरञ्जन पनि लिए । धरानमा २०३३ सालदेखि बहुदल आउञ्जेलसम्म प्रमुख बनेको कवि बम देवान त त्यो स्थानमा नपुग्ने कुरै भएन । बहाना जेसुकै होस्, केटाकेटी उमेरमा खरायो हेर्ने बाहाना होस्, वा शिकार गर्ने बाहाना । कतिले त खरायोको शिकार गरे । बदेलहरू पनि बेलाबेला झुल्किन्थे पानी खान । स्याल, फ्याउँरोको त कुरै छाडौं दैनिकजसो आएर कराउँथे ।

‘जुनेली भा’को बेला रमाइलो हुन्थ्यो, खरायो जम्मा हुन्थ्यो । त्यहाँ साथीहरूले खरायोको शिकार पनि गर्ने गर्थै । पूर्णेको दिनमा मार्नु मात्रै नभएर हेर्न पनि जान्थ्यौं, मान्छेजस्तो टुक्रुक्क बसेको हुन्थ्यो । साह्रै रमाइलो हुन्थ्यो’ पञ्चायतकालमा मेयरसमेत रहेका कवि देवान भन्छन्, ‘खरायो मार्नका लागि टाउँकोमा बत्ती बाल्यो, अर्को हातले टिङटिङटिङ घण्टी बजाउन्थ्यौं, बत्ती देखेपछि खरायो नजिक आउथ्यो । लौरोले ठङ्गै हान्यो, मा¥यो ।’ पूर्व–उत्तर–दक्षिणमा डिल रहेको र पश्चिमतर्फ सामान्य डिल रहेकाले करिब एक कठ्ठामा ३–४ फिट पानीकाे दह रहेको उनी बताउँछन् ।

उनका अनुसार करिब २०२७ सालसम्म पोखरीको रूपमा रहेको थियो । तर, अन्य जानकारका अनुसार १०–१२ साल ताकादेखि नै त्यहाँ पानी हुन छाडेको थियो । तर, देवानको दाबी अनुसार २०२७ सालसम्म पानी रहेको थियाे । आफू २०–२१ वर्षको युवावस्था हुँदा त्यहाँ जुनेली रातमा निकै पटक गएको स्मरण गर्छन् । वि.सं. २०११ सालमा जन्मिएका बिर्खबहादुर श्रेष्ठले (जसको ठूलोबुबा बुद्धिबहादुरको जग्गासमेत रहेको) आफूले थाहा पाउँदा पानी नभएको बताउँछन् ।

तर, रूप्से पोखरीको किंवदन्तीलाई भने यसरी जोडे, ‘एक जना दलित बुहारी त्यहीँ पोखरीमा नुहाएर फर्किएपछि आफ्नो रूप नै फेरिएछ, घर पुग्दा घरकाले पनि नचिनेपछि म तपाईंहरूकै बुहारी हुँ भन्दा पनि पत्याएनछन् । त्यसपछि आफैले त्यो बेलामा ऐनासमेत नभएकाले पानीमा अनुहार हेर्दा आफू गोरी भएको पाइछन् । नुहाउनु अघिसम्म उनी काली रहेकाले गोरी भएपछि त्यो पोखरीको नाम रूप्से पोखरी हुन गएको भन्ने भनाइ छ ।’

rupse_pokhari_dharan

रूप्से पाेखरी क्षेत्रमा मानब बस्तीका लागि प्लटिङ गरिएकाे क्षेत्र । तस्बिरः भाेजराज

रूप फेरिएका हिसाबले त्यो पोखरीको नाम नै रूप्से पोखरी रहन गएको किंवदन्ती उनले जोडे । यथार्थ के हो खोजअनुसन्धानकै विषय हो । पूर्वाञ्चल इन्जिनियरिङ कलेजका प्राध्यापक उद्दव श्रेष्ठ ‘मकै’ आफ्नो बुबाको भनाइ स्मरण गर्दै भने, ‘कैलाश पर्वतबाट देउताहरू नुहाउन आउथ्यो अरे, गंगा जलभन्दा पवित्र र चोखो मानिन्थ्यो अरे । त्यही भएर देउदेउता गंगामा नगएर यतै नुहाएर फर्किन्थे अरे ।’ यो पनि किंवदन्तीकै रूपमा रहेको छ । धरानमा बस्तीको सुरुवात वि.सं. १९६० सालदेखि सुरु भएको मानिन्छ । त्यो बेलासम्म घना जंगल रहेको थियो । विजयपुरमा मात्रै बस्ती थियो । जुन धरानको ऐतिहासिक बस्ती मानिन्छ ।

रूप्से पोखरीका थुप्रै किंवदन्ती र मिथक गाँसिएर आउने गरेका छन् । स्थानीय जानकार टोमप्रसाद आचार्य भन्छन्, ‘हरेक साँझ एउटा महिला रुन्थिन रे, त्यही महिला रोएको भएर रूप्से पोखरी नाम भएको अरे ।’ रूप्से पोखरीका बारे नजिकबाट उनले जानेको भने २०१२ सालमा हो । जतिबेला राजा त्रिभूवन पिण्डेश्वर मन्दिरमा सवार हुँदैथिए । राजा आउने भएकाले धमाधम बाटो बनिन थालेको थियो । त्यो बेला केटाकेटी नै थिए टोमप्रसाद । पहिलो पटक त्यो बाटोमा डोजर प्रयोग भएको थियो । जसका कारण उनी त्यही डोजर हेर्ने बाहानामा त्यहाँ पुगेका थिए । ‘डोजर हेर्न पुगेको थिएँ, त्यो बेला पानी भएजस्तो लाग्दैन, गहिरोचाहिँ गहिरो थियो, पानीचाहिँ थिएन’ उनी भन्छन्, रूप्से पोखरी भन्थिएँ ।’

रूप्से पोखरीमा उनले आँखैले देखेको दृष्यको बारेमा भने यसरी वर्णन गरे, ‘केटाकेटी नै थियौं, गर्मीको बेला घरको बरण्डामा सुत्थ्यौं । मेरो आँखाले चाहिँ राँके भूत कयौं पटक देखेको छु । एउटा राँको हुन्थ्यो । अनि फेरि ससना थुप्रै राँकाहरू हुने । फेरि गोलो हुने । त्यसलाई चाहिँ राँके भूत–राँके भूत भन्थ्यौं ।’ कवि बम देवानले माथि चर्चा गरेजस्तो सायद खरायोको शिकारका लागि पुगेकाहरूले बालेको बत्ती नै राँके भूत बनेको हो कि !

कतिपयले भने रूप्से पोखरीको पानी पिउने गरेका थिए । त्यो बेला पानीको अभाव (हुन त अहिले पनि धरानमा पानीको अभाव हुन्छ) हुने भएकाले धेरै परिवारहरू त्यहाँको पानी लगेर पिउने गरेको बिर्खबहादुर श्रेष्ठ बताउँछन् । ‘ठूलो वर्षात् हुँदा त्यहाँ निक्कै समयसम्म पानी अडिन्थ्यो, फुस्रेमा पानी नआउँदा त्यहाँको पानी खान्थे । पछि फोहोर हुँदै गयो । सुक्दै गयो ।’ बिर्खबहादुर र बम देवानको भनाइहरू सुन्दा के अनुमान गर्न सकिन्छ भने त्यहाँ धेरै पछिसम्म पानी रहेको थियो । किनकि २०११ सालमा जन्मिएका बिर्खबहादुरले त्यहाँको पानी पिउने गरेको कुराले के प्रमाणित गर्छ भने धेरै पछिसम्म पानी थियो । तर, व्यक्तिगत जमिनमा पोखरी भएकाले कालान्तरमा धरानमा बस्ती बाक्लिदै गएपछि मासिन पुग्याे । 

बिर्खबहादुर भन्छन्, ‘त्यो जमिन ठूलोबुबा बुद्धिबहादुरको थियो । पछि खनाल परिवारलाई दान गर्नुभयो । जो पण्डित्याइँ गर्थे । खनाल परिवारले पनि बद्री साहुँ (जो धनकुटाका नेवार थिए) लाई बेचेँ ।’ अहिले पोखरी भएको जमिनमा बग्रेल्ती घरहरू बनेका छन् । जसले विगतको मिथक तथा अनकेन किंवदन्तीलाई चिर्दै धरानमा पोखरी पनि थियो र ! भन्ने प्रमाण दरिलो रूपमा स्थापित गराइदिएकाे छ । यसले पनि धरानेका लागि पाैडिने कल्पना दिमागमा सीमित गरिदिएकाे छ ।