धरान । भारतीय विस्तारवाद र नेपाली भूमि अतिक्रमणको विरोधमा आजबाट सामाजिक सञ्जालमा विरोध जनाइने भएको छ ।
धरानका स्वतन्त्र नागरिकहरूले भारतीय अतिक्रमण र विस्तारवादका पिछलग्गु राजनैतिक दल र सरकारको सामाजिक सञ्जालमा व्यापक विरोध जनाइने भएको हो । जाति, धर्म र राजनीतिभन्दा माथि उठ्नका लागि र राष्ट्रिय सवालमा एकतावद्ध हुनका लागि आह्वान गरिएको छ ।
विश्वभरि रहेका देशभक्त नेपालीलाई आआफ्नो सामाजिक सञ्जालमार्फत् वैशाख ३१ गते अर्थात् आज भारत र भारतीय विस्तावादका पिछलग्गु राजनैतिक दल र सरकारको विरोधमा लेख्ने, बोल्ने, भिडियो र फोटोहरू पोष्ट गर्न आह्वान गरेको छ । त्यस्तै भोलि जेठ १ गते विश्वभरि छरिएर रहेका देशभक्त नेपाली प्रकाशन तथा प्रशारण सञ्चारमाध्यामहरूबाट भारतीय अतिक्रमण र आत्मसमर्पणवादी नेपाली राजनीतिको भण्डाफोर गर्न आग्रह गरिएको छ ।
जेठ २ गतेदेखि ५ गतेसम्म देशभक्त पत्रकार, कर्मचारी, शिक्षक, मजदुर, चिकित्सक, स्वास्थ्यकर्मी लगायत पेशाकर्मीहरूले कालोपट्टी बाँधेर भारतीय अतिक्रमणको विरोध गर्न आह्वान गरिएको स्वतन्त्र नागरिक तथा पत्रकार महेश श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
त्यो अवधिमा पोष्ट गरिएको सामग्रीलाई कालो रंग लगाउँदै विद्युतयि तथा छापा माध्यमका पत्रपत्रिकामा सम्पादकीयको कोलममा कालो पोतेर भारतीय अतिक्रमणको विरोध गर्न आह्वान गरिएको छ । नेपाली भूमि फिर्ता गराउनका लागि देशविदेशमा रहेका सबै नेपालीहरूलाई ऐक्यवद्धता जनाउनका लागि आआफ्नो स्थानबाट संघर्षका कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ ।