धरान । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्कमा अमेरिकामा ८१ हजार ७९३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या मात्रै १३ लाख ८६ हजार ८३४ रहेको छ । संक्रमणको जोखिम बढ्दै गएका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरूले पनि मास्क प्रयोग गर्न थालेका छन् ।

कोरोना संक्रमणका हिसाबले अमेरिका सबैभन्दा बढी हो । अमेरिकापछि मृत्युदर सबैभन्दा बढी बेलायतमा रहेको छ । हालसम्म बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भइसकेको छ भने २ लाख २३ हजार ६० जना संक्रमित रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक एकलाख ५० हजारदेखि ३ लाखको हाराहारीमा परीक्षण भइरहेको जनाएका छन् । सोमबार मात्रै ९० हजारको परीक्षण गरिएको थियो । ह्वाइट हाउसभित्रै पनि कोरोना संक्रमितहरू देखिन थालेका छन् ।

पछिल्लो समय राष्ट्रपतिका एक सुरक्षाकर्मीलाई नै कोरोना भएको पुष्टि भएको थियो । त्यस्तै उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ भएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयले अमेरिकामा करिब डेढ लाखको हाराहारीमा कोरोका कारण मृत्यु हुने यसअघि नै प्रक्षेपण गरेको थियो ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले बहालवाला राष्ट्रपतिले कोरोना भाइरसका विषयमा संवेदनशील नभएको टिप्पणी गरेका थिए ।