धरान । भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा धरानका अभियन्ताहरूले शान्तिपूर्ण विरोध र्याली प्रदर्शन गरेका छन् ।
धरानका सामाजिक अभियन्ताहरूले स्वस्फुर्त रूपमा धरानको भानुचौकदेखि जीरोपोइन्टसम्मको करिब २ किलोमिटर विरोध र्याली प्रदर्शन गरेका हुन् । विरोध र्यालीको नेतृत्व प्रा.डा. राजेन्द्र शर्माले गरेका छन् । र्यालीमा करिब १५ जना सहभागी रहेका छन् । विरोध र्यालीमा भारतको मिचाहा प्रवृत्तिको खुलेर विरोध गरिएको पोष्टर, पम्प्लेट र पर्चा प्रदर्शन गरिएको छ । सहभागी हरेकले आफ्नो छातीमा टाँसेर पैदल नै जीरोपोइन्टसम्म पुगेका हुन् ।
हिजो पनि धरानको भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शन गरिएको थियो । शान्तिपूर्ण प्रदर्शनलाई अन्तिम समयमा नेपाली प्रहरीले हस्तक्षेप गरेको थियो । भारतले नेपाली भूभागलाई मिच्दै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरिएपछि स्वस्फुर्त रूपमा देशव्यापी आन्दोलन भइरहेको छ ।
सरकारले पनि यस विषयमा विज्ञप्ति प्रकाशित गरेर भारतले कुटनीतिक हिसाबमा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको जनाएको थियो ।
सीमा विवादका विषयमा सरकारले चर्को आवाज नउठाएको भन्दै सदनदेखि सडकसम्म विरोध जनाउँदै आएको छन् । नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत मिचेर भारतले सडक बनाएकोप्रति सांकेतिक रूपमा विरोध जनाइएको सामाजिक अभियन्ता तथा अग्रज पत्रकार महेश श्रेष्ठले बताए ।
प्ले कार्डमा ‘हामीलाई नेपाली माटो प्यारो छ, नेपाली भूमिमाथिको अतिक्रमण बन्द गर्, राष्ट्रघाती नायालक सरकार मुर्दावाद, हाम्रो अतिक्रमित भूमि फिर्ता गर, भारतीय विस्तारवाद मुर्दावाद, सम्पूर्ण नेपाली एक हौं लगायत नारा लेखिएका छन् ।