धरान । भारतले नेपालको भूमि मिचेर सडक निर्माण गरिनुलाई राष्ट्रिय जनमुक्ति पार्टीले सार्वभौमसत्तामाथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ ।

सरकारले यस मुद्दामा सदनमा व्यापक रूपमा उठाउँदै भारतको हस्तक्षेपका विरुद्ध आवाज उठाउन माग गरेको छ । वैशाख २७ गते एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीले भारतले यत्रो सडक बनाउँदा समेत नेपाल सरकारले ‘बेखबर र उदासिन’ रहनु राष्ट्रिय लज्जाको विषय रहेको बताएको छ ।

पार्टीका महासचिव केशव सूर्यवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विवादित नक्सा प्रकरणलाई उच्च प्राथमिकतामा राखेर संसद्मा यो विषय उठाउन भनिएको छ । भारतले करिब ६ महिना अगाडि नै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको ३ सय ७२ वर्ग किलोमिटर क्षेत्रफल अतिक्रमण गरेको विषय जगजाहेरै रहेको सन्दर्भमा नेपाल सरकारले गम्भीर भएर कुटनीतिक पहल गरी दीर्घकालीन समाधान नगरिनु पनि सरकारको नालायकीपन रहेको विज्ञप्तिमा उल्लेख छ ।