भद्रपुर । सरकारले शुक्रबारदेखि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने अनुमति दिएसँगै त्यसलाई जिल्लामा कार्यान्वयन गर्ने, गराउने विषयमा झापामा बैठक बसी सरकारले तोकेको कोरोना भाइरस सम्बन्धी न्यूनतम मापदण्ड पूरा गर्दै लकडाउन थप खुकुलो बनाउने निर्णय भएको छ ।
जिल्ला समन्वय समिति भद्रपुरमा शुक्रबार कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा यस्तो निर्णय गरेको हो ।
सर्वपक्षीय बैठकमा जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, बिउबिजन, हार्डवेयर, इट्टा बिक्री केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसलहरू बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सङ्घीय सरकारले तोकेको मापदण्ड पूरा गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघिको सर्वपक्षीय बैठकले जिल्लाका खाद्यान्न र सागसब्जीका पसल मात्र बिहान ८ देखि ११ बजेसम्म खोल्ने निर्णय गरेको थियो । त्यस्तै बैठकले घर बहाल कर, व्यवसायी कर तथा शुल्कहरू छुटका लागि स्थानीय उद्योग वाणिज्य सङ्घहरूसँग समन्वय गरी आवश्यक निर्णय गर्न गाउँपालिका÷ नगरपालिकाहरूलाई अनुरोध गर्ने, गाउँपालिका तथा नगरपालिकाबाट हुने राहत सामाग्री कडाइका साथ एकद्वार प्रणाली मार्फत वितरण गर्ने साथै राहत सामाग्री तोकिएको मापदण्ड र गुणस्तरको हुनुपर्ने निर्णय गरिएको कोरोना भाइरस सङ्क्रmमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।
जिल्लाका उद्योग तथा व्यवसायहरू सञ्चालनका लागि न्यूनतम मापदण्डसहित सञ्चालनको अनुमति पालिकाहरूले प्रदान गर्ने निर्णय गरिएको छ । उद्योगहरूले कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने, काम गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र हात धुने व्यवस्था अनिवार्य मिलाउनु पर्ने, कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य परिचय–पत्र दिएको हुनुपर्ने र ढुवानीका साधन चालक र सह–चालकको अनिवार्य परिचय–पत्र हुनुपर्ने निर्णय गरिएको छ । त्यस्तै खाद्यान्न, औद्योगिक उत्पादन र कृषि प्रयोजनका ढुवानीका साधनहरूको हकमा पास आवश्यक नपर्ने र त्यस्ता सवारी साधनका चालक र सहचालक बाहेक अन्यलाई यात्रा गराइएको पाइएमा कानुनी कारबाही हुने उल्लेख छ ।