धरान । कोरोना भाइरसको महामारी नियन्त्रणका विषयमा असंलग्न राष्ट्रहरूबीच अनलाइन शिखर सम्मेलन शुरु भएको छ ।
विश्वमा बढ्दो कोरोना प्रभावलाई नियन्त्रण गर्नका लागि ३९ देशका राष्ट्र प्रमुखहरू शिखर सम्मेलनमा सहभागी बनेका छन् । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली शिखर सम्मेलनको प्रतिनिधित्व गरिरहेका छन् । प्रम ओलीले सिंहदरबारबाटै आफ्नो उपस्थिति जनाएका छन् ।
हालसम्मको कोरोना संक्रमणको अवस्थालगायतका कारण नेपाल सुरक्षित देशमा रहेको छ । तर, यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने नेपाललाई उच्च जोखिम रहेको देशमा राखेको थियो । हालसम्म नेपालमा ७५ जना कोरोना संक्रमित देखिएका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसमध्ये एक युवालाई फेरि कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा फिर्ता गरिएको छ ।
अनलाइन सम्मेलनमा कोरोनाको संक्रमण, रोकथामका विषयमा छलफल भइरहेको छ । नेपालले चैत ११ गतेदेखि लकडाउन शुरु गरेको छ भने वैशाख २५ गते लकडाउनको अन्तिम मिति पनि सकिँदै छ । यही बीचमा गरिएको सम्मेलनबाट केही अपेक्षा र आशासमेत गरिएको छ । कोरोना प्रभावित राष्ट्रहरूले थप कडाइ गरेर सुरक्षा अपनाउनु पर्ने सुझाव समेत पेश गरिँदै छ ।
विश्वमा कोरोनाबाट ३६ लाख ४४ हजार ८२२ जना संक्रमित बनेका छन् भने २ लाख ५२ हजार ३६६ जनाको ज्यान गइसकेको छ । यसमध्ये ११ लख ९४ हजार ८४२ जना उपचारपछि निको भएर फर्किएका छन् । सबैभन्दा बढी अमेरिका, इटाली, स्पेनमा कोरोनाबाट संक्रमित र मृत्युदर बढी छ । पछिल्लो समय रूस कोरोनाका लागि हटस्पट बनेको छ । आइतबार एकै दिन १० हजारमा कोरोना संक्रमण भएको भेटिएको थियो ।