पाँचथर / एक नं. प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीजि क्षेत्रका लागि सरकारले आर्थिक प्याकेज ल्याउन लागेको बताएका छन् ।
शुक्रबार गृह जिल्ला फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आङ्बोले कोरोना भाइरस (कोभिड १९) को प्रभाव कति लामो समय रहन्छ, त्यसलाई हेरेर नीजि क्षेत्रका लागि सरकारले आर्थिक प्योकजको घोषणा गर्ने बताए ।
‘उद्योगी–व्यवसायीका निम्ति सरकारले दुई चरणमा राहत प्योजक घोषणा गरिसकेको छ’ मन्त्री आङ्बोले भने, ‘कोरानाको कति परसम्म प्रभाव रहन्छ र समग्र नीजि क्षेत्र र अर्थतन्त्रमा कति असर पर्छ, त्यसलाई हेरेर सरकारले पुनः राहत प्याकेजको घोषणा गर्छ ।’
आङ्बोले संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले कृषि क्षेत्र र महत्वपूर्ण विकास निर्माणका काममा लकडाउनलाई केही खुकुलो बनाउने समेत बताए । यी क्षेत्र मुलुकको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने क्षेत्र भएकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर यी क्षेत्रलाई खुकुलो बनाउन आवश्यक रहेको उनको भनाई थियो ।
विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्ने भएकाले आगामी बजेटमा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने, उत्पादन बढाउने र रोजगारी गुमाएकाहरुलाई पुर्नस्थापित गर्ने किसिमको कार्यक्रम समेट्ने तयारी भइरहेको मन्त्री आङ्बोले बताए ।
कोरोना भाइरस (कोभिड १९) बिरुद्ध एक नं.प्रदेश सरकारले संकटको सामना गर्न सक्ने गरी तयारी गरेकाले स्वंयम् र सचेत रहन तर धेरै नआत्तिन पनि मन्त्री आङ्बोले आग्रह गरे । लकडाउनमा स्वभाविक रुपमा केही अप्ठ्यारा र समस्याहरु आउने उल्लेख गर्दै उनले भयावह अवस्थाको सिर्जना हुन नदिन केही कठोर बन्नुपर्ने समेत आङ्बोको भनाई थियो । मन्त्री आङ्बोले एक नं.प्रदेशको सिमा क्षेत्रमा एक–एक किलोमिटरको दुरीमा नेपाली सेना र शशस्त्र प्रहरी परिचालन गरिएको बताउदै त्यसै अनुरुपमा सिमा क्षेत्रमा आवस्यक क्वारेन्टाइन बेडहरु समेत बढाउदै लगिने बताए ।
कोरोना रोकथामका लागि जिल्लामा भइरहेको क्रियाकलापहरुको अनुगमन गर्ने शिलिशिलामा फिदिम आइपुगेका मन्त्री आङ्बोले शुक्रबार नै जिल्लास्थित राजनीतिक दलका प्रमुख, सरोकारवाला निकाय र निर्माण क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने बताइएको छ ।