धरान । क्रान्तिमा होमिएका पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले माओवादीको १० वर्षे जनयुद्धका विषयमा ‘आफू क्रान्तिमा हैन, भ्रान्तिमा लागेको’ टिप्पणी गरेका छन् ।
उनको भनाइ सामाजिक सञ्जाल ट्वीटरमा बिरेन नामको आइडीबाट सार्वजनिक भएको छ । जसमा पत्रकार सुबोध गौतमले पनि लाइक गरेका छन् । बिरेनले पूर्वमन्त्री विष्टको भनाइ उदृत गर्दै ‘प्रचण्ड र बाबुराम भट्टराईले क्रान्ति गरेपछि नेपाल स्वर्ग हुन्छ भनेर भन्नुभयो । त्यसैले क्रान्तिमा होमिएँ । कति क्षति भयो, हिसाबकिताब छैन । तर, अहिले चेत खुल्दै छ कि त्यो बेला भ्रान्तिमा लागेको रहेछु र अहिले क्रान्तिमा लागेको छु’ भनेर उल्लेख गरेका छन् । उनको यो भनाइमा ११९ पटक रिट्वीट भएको छ भने ३३८ जनालाई लाइक गरेका छन् । १९ जनाले कमेन्ट गर्दै उदाहरणीय प्रतिक्रिया भएको टिप्पणी गरेका छन् ।
पछिल्लो समय पूर्वमन्त्री विष्ट ड्रागन फलको खेतीमा लागेका छन् । दाङको तुलसीपुर उपमहानगर–१८ मा सिउँडी प्रजातिको ड्रागन फलको खेतीमा लागेका हुन् । पूर्वमन्त्री विष्टसहित तीन जनाको लगानीमा खेती गरिएको हो । ६६ कठ्ठामा खेती गरिरहेका छन् । नेपालमा १८ वर्षअघिबाट यो खेती भित्रिए पनि फष्टाउन सकेको थिएन । नेपालमा पहिलोपटक ड्रागन फल खोटाङका डा. जेएन (जगन्नाथ) राईले भित्र्याएको दाबी गरिन्छ । उनले सन् २००२ मा भियतनामबाट यो फल भित्र्याएको बताइन्छ ।