धरान । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई फेरि एक साता लकडाउन लम्ब्याउनका लागि सुझाव पेश गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा शनिबार बसेको उच्चस्तरीय समितिले सरकारलाई एक साता थप गर्नका लागि सुझाव दिएको हो । सोही सुझावको आधारमा सरकारले एक साता लम्ब्याउने वा के गर्ने भन्ने विषयमा छलफल गर्ने छ । लकडाउनको मोडालिटी बनाउनका लागि जिम्मेवारी पाएका मुख्मसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदलले दिएको सुझावका आधारमा सरकारलाई लकडाउन लम्ब्याउनका सुझाव दिइएको छ ।

त्यसपछि मात्रै लकडाउनको मोडालिटी परिवर्तन गर्न सकिने गरी नयाँ तरिका अपनाइने बताइएको छ । लकडाउनलाई सबैले पालना गर्नका लागि आग्रह गरेका छन् । सरकारले चैत ११ गतेदेखि मुलुकमा लकडाउन सुरु गरेको छ । यही लकडाउनको अवधिमा नै नेपालमा ४९ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोना संक्रमणको अवस्था नेपालमा तेस्रो चरणमा प्रवेश गरेको छ । जुन सामुदायिक स्तरमा नै फैलिँदै गएको अवस्था छ ।