धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको अभियानमा सहयोग गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले प्रतिवद्धता जनाएका छन् ।

उवासंघमा बुधबारको छलफलमा उनले उवासंघका अभियानमा जिल्ला प्रशासनले गर्ने सबैखाल्का सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् । प्रजिअ पौडेलले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनको पालाना गरेर सुनसरीका पसलहरू बिहान ६ देखि ९ बजेसम्म ओलोपालो प्रणालीमा खोल्न दिने बताए । उनले उवासंघले गठन गरेको बजार अनुगमन तथा आपूर्ति समन्वय समितिले गर्ने कार्यहरूप्रति सदैव प्रशासनको सहयोग रहने बताए ।

उनले व्यापारीले अवैधानिक तवरले कमाउने नियत राखी व्यवसाय सञ्चालन गरेमा कानूनी दायरामा ल्याउने समेत चेतावनी दिए । उवासंघका अध्यक्ष गिरिधारी सापकोटाको सभापत्विमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र साह, इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्रबहादुर कार्की, इलाका प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज न्यौपाने, सशस्त्र प्रहरी बेस क्याम्प धरानका डिएसपी राजेन्द्रकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।