धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत धरान बाहिरबाट आउने सुरक्षागार्डलाई मध्यनजर गर्दै नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघका अध्यक्षले लकडाउन अवधिभर आफ्नो होटलमा बस्न खानको व्यवस्था गरिदिएका छन् ।

बीपी प्रतिष्ठानमा १३२ कार्यरतमध्ये १० जना धरान बाहिरका छन् । उनीहरूलाई लकडाउन अवधिभरिका लागि संघका अध्यक्ष राजु श्रेष्ठले बस्ने र खानेको व्यवस्था गरिदिएका हुन् । जसमा धरान–१८ नम्बर वडा कार्यालयले खाद्यान्नका लागि सहयोग गर्ने भएको छ । अध्यक्ष श्रेष्ठले धरान–१८ मा सञ्चालनमा ल्याएको होटल ब्लुवर्ड लज तथा होटलमा सुरक्षागार्डलाई बस्नेखानेको व्यवस्था गरिदिएका हुन् ।

blue_bird_hotel_dharan_raju_shretha

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कार्यरत सुरक्षा श्रमिकहरू घरमा जाँदा थप समस्या हुन सक्ने भएकाले पनि उनीहरूलाई बस्नेखानेको व्यवस्था गरिदिएका हुन् । ‘अस्पतालमा काम गर्ने सुरक्षाकर्मीलाई गाउँघरमा जाँदा अप्ठ्यारो मान्ने स्थिति सिर्जना भएपछि उनीहरूको मानसिकतालाई बुझेर नै व्यक्तिगत पहलमा खानेबस्ने व्यवस्था गरिदिएको हुँ’ उनले भने, ‘यही विषय वडालाई जानकारी गराउँदा वडाले पनि खाद्यान्न सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।’

प्रतिष्ठानमा अहिले भीआइपी कम्पनीले सुरक्षाको जिम्मा लिएको छ । हाल धरानभन्दा बाहिर वराहक्षेत्रको चतरा, नहडा, भरौल, धरानको पटनाली, पानबारी र मोरङको याङ्सिला क्षेत्रबाट सुरक्षाकर्मी कामका लागि आउने गरेका छन् । लकडाउनको अवधिमा आउजाउ गर्दा सुरक्षाकर्मीलाई नै समस्या हुने भएकाले व्यवस्था गरिएको उनले बताए । सुरक्षाकर्मी रेवत प्रधानले भने, ‘यहाँ हामी मास्कको भरमा काम गर्नुपर्छ, सेफ साइड छैन, त्रसित भएर डिउटी सके गएको अवस्थामा परिवारलाई नै सर्ने हो कि भन्ने डर हुन्छ । यो एक हिसाले छुट्टै क्वारेन्टाइन जस्तो पनि भयो ।’

IMG_20200419_145001

पटनाली क्षेत्रबाट दैनिक कामका लागि आउने लक्ष्मी वाग्लेले भने, ‘अस्पतालमा काम गर्नुपर्छ । मलाई पनि डर हुन्छ, परिवारमा पनि डर हुन्छ । हामी आफैँ कसरी जोगिने भन्ने भइरहेको बेला परिवारमा भयो भने जन टेन्सन हुन्छ ।’ अध्यक्ष श्रेष्ठले आफ्ना सुरक्षाकर्मीहरू सधै सुरक्षित होस् भन्ने हेतुले पनि यो कार्य गरिएको बताए ।