कालाबन्जार/उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जीदमा बस्दै आएका १२ भारतीयमा कोरोना भएको पुष्टि भएपछि वराहक्षेत्र नगरपालिकाले उदयपुर सडकखण्ड शिल गरेको छ ।

वैशाख ८ गतेसम्म शिल गर्ने निर्णय गरेको हो । त्यो अवधिभरि जिल्लामा रहेका खाद्यान्न पसल, सब्जी, मेडिकल, दूधलगायतका अतिआवश्यकीय वस्तुहरूको बिक्रीवितरण समेत ठप्प पारिएको छ । जिल्लामा वैशाख ६ गतेदेखि ८ गतेसम्म पूर्णरूपमा लकडाउन गर्न लागिएको हो । यो अवधिमा घरबाट बाहिर निस्किनेहरूलाई पक्राउ गरी क्वारेन्टाइनमा पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । इप्रका महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर सरणकुमार दाहालले सूचना जाहेर गरेका छन् ।

सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा सञ्चालित जेट बोट बन्द गर्नका लागि सशस्त्र प्रहरी बल चतरालाई नगर प्रमुख निलम खनालले निर्देशन दिएका छन् । उदयपुर खण्डबाट आउने सवारीहरूलाई पनि पूर्णरूपमा बन्द गर्न निर्देशन गरिएको छ । यसैबीच कोरोना भए÷नभएको जाँचका लागि र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) को परीक्षण शुरु गरिएको छ ।