इटहरी । लामोसमय बिरामी भएका इटहरी–१ का वडाध्यक्ष विष्णुलाल चौधरी बुधबार राति निधन भएपश्चात परिवार र वडाबासी नै शोकमा डुबेका छन् ।

अचानक वडाध्यक्षको निधनले वडाबासी शोकमा डुबेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित भएका थिए । उनी पुराना काङ्ग्रेस कार्यकर्ता थिए । २०२३ साल साबिक हाँसपोसा गाउँ विकास समिति ९ नम्बर वडामा जन्मिएका उनी प्रजातान्त्रिक आन्दोलनका सिपाही मानिन्छन् । पञ्चायत विरोधी आन्दोलनमा होमिएका उनी त्यसबेलादेखि नै राजनीतिमा होमिएका थिए ।

२०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछिको २०४८ सालको स्थानीय तहको निर्वाचनमा उनी साबिक हाँसपोसा–९ बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । गाविस हुँदा ताका विकासका सच्चा पहरेदार ठानिएका उनी सरल, सादगी जीवन बिताउँदै आएका थिए । इटहरीका शिक्षासेवी दिलकुमार बनले इटहरीले एउटा इमान्दार जनप्रतिनिधि गुमाएको बताए ।

५३ वर्षको उमेरमै निधन हुन पुगेका उनी राजनीतिमा सधै सक्रिय जीवन बिताएका थिए । बिना आग्रह, पूर्वाग्रहमा आफ्नो दायित्व पूरा गर्दै आएका उनी हाँसपोसा क्षेत्रमा लोकप्रिय नेताका रूपमा परिचित थिए भने काङ्ग्रेसका असल कार्यकर्तामा गनिन्थे । तर, पछिल्लो समय उनी पेटको क्यान्सरबाट पीडित बनेका थिए । आर्थिक अभावका कारण समयमा उपचार हुन नसकेपछि उनको क्यान्सर बढ्दै गएको थियो । केही समयअघि भारततिर पनि उपचार गराएर ल्याएका उनको घरमै निधन भएको हो ।

युवा कालमा पञ्चायत विरोधी गतिविधिमा उनी नेपाली काङ्ग्रेसको पर्चा पम्प्लेटहरू लुकिछिपी रूपमा टाँस्ने काम गर्दथे । उनले प्रजातन्त्रको पक्षमा जनता जगाउन पम्प्लेटहरू बाँड्दै हिड्थे । काङ्ग्रेसका सुनसरी क्षेत्र नं. २ (क) का सभापति रमेशकुमार पोखरेलले दिवङ्गत चौधरी इमान्दार नेता भएको प्रतिक्रिया दिए । नेपाली काङ्ग्रेस सुनसरीका जिल्ला सभापति तथा प्रदेश १ का प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइराला, प्रतिनिधि सभाका सांसद् सीताराम मेहता, नेपाली काङ्ग्रेस सुनसरीका सचिव केदार भण्डारीले काङ्ग्रेसको झण्डा ओढाएका थिए ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमलगायत सहभागी रहेका थिए । चौधरीको श्रीमती, एक छोरा र दुई छोरी छन् ।