धरान, / नेपाली कांग्रेसद्वारा धरानमा अनुगमन गरिएको छ । कोरोना भाईरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन तथा रोकथाम र उपचारका लागि धरानमा भईरहेको प्रयास र लामो समयदेखि जारी लकडाउनका कारण आम नागरिकमा पर्न गएको प्रभाव तथा दैनिक ज्याला मजदुरी गर्ने विपन्न नागरिकहरुका लागि उपलब्ध गराउंदै आएको राहतलगायत व्यवस्थापन रवितरणका विषयमा अनुगमन गरिएको हो ।
नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेको नेतृत्वमा कांग्रेसले अनुगमन गरेको हो । अनुगमन तथा समन्वय टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक आवसीय महाविद्यालयस्थित क्वारेनटाइन भवन, इलाका प्रशासन कार्यालय, कृषि उपज बजार र केही तरकारी पसलमा अनुगमन गरेको हो ।
अनुगमन टोलीमा महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य अनिल श्रेष्ठ, निवर्तमान नगर सभापति किशोर राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्रमुख डा. चन्द्र सुब्बालगायत रहेका थिए ।
टोलीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्खरै सञ्चालनमा आएको कोरोना परीक्षण ल्याव तथा उपकरण, संक्रमित एवम् आशंकित व्यक्तिको उपचारका लागि व्यवस्था गरिएको आइसोलेशन वार्ड, डाइगोनोष्टिक किट्स तथा रियजेन्टस, हेल्प डेस्क, कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि आवश्यक पर्ने पीपीई, सर्जिकल तथा एन–९५ मास्क, सेनिटाइजरलगायत आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणको अवस्थाबारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु प्रसाद खनाल र आकस्मिक कक्ष तथा फेमिली मेडिशिन विभागका प्रमुख प्राडा ज्ञानेन्द्र मल्लसँग जानकारी लिएका थिए । अनुगमनका क्रममा उपकुलपति खनालले हाल २० वेड क्षमताको आइशोलेसन वार्डको प्रबन्ध मिलाइएको भएता पनि भेन्टिलेटर २ वटा मात्र भएकाले गम्भिर प्रकारका संक्रमितको संख्या वृद्धि भएमा अहिलेको क्षमताले थेग्न नसक्ने बताए ।
उनले आवश्यक भेन्टिलेटर खरिद गरी २० वेड क्षमताको आई.सि.यु.थप गर्ने तयारी थालिएको बताए । साथै हाल प्रतिष्ठानमा स्थापना गरिएको कोरोना परीक्षण ल्यावमा दैनिक १७ जनाको स्वाव परीक्षण गर्न सकिने बताउंदै आवश्यकता परे रातमा समेत परीक्षण गरी ३४ जना सम्मको परीक्षण गरिने बताए । प्रतिष्ठानले स्वाव संकलन गरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएको १९ जना र प्रतिष्ठान आफैले स्वाव परीक्षण गरेको ४८ जनामा कोरोना संक्रमण नदेखिएको उनले बताए ।
प्रदेश १ अन्तर्गतका सरकारले तोकेको अस्पताल, निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुले कसैलाई ज्वरो आउने वित्तिकै प्रतिष्ठान पठाउने गरेमा समस्या उत्पन्न हुने अवस्था रहेको डा. मल्लले बताए । उनले हिजो विदेशवाट आएकाहरुलाई मात्र क्वारेनटाइनमा पठाउने, स्वाव परीक्षण गर्ने र आइशोलेशनमा राख्ने गर्दै आएकोमा कोरोनाको महामारी दोश्रो चरणमा पुगेकाले अब परिवार र सम्पर्कमा आएका सबैको परीक्षण गर्नुपर्ने र सामान्य अवस्थाका विरामीलाई समेत आइसोलेशनमा राख्नुपर्ने अवस्था सिर्जना भएको बताए । सोही क्रममा सचिव तामाङले कोरोना बाहेकका विरामीहरुको स्वास्थ्य उपचारलाई पनि सहज र सरल बनाउन आग्रह गरे ।
अनुगमनको क्रममा कोरोनाको लक्षण देखा परेका आशंकित व्यक्तिलाई प्रतिष्ठानमा ल्याउन र क्वारेनटाइनमा पुर्याउन तीन वटा एम्वुलेन्सको व्यवस्था गरिएको पाइएको छ ।
त्यसैगरी टोलीले धरानको फुस्रस्थित सैनिक आवसीय महाविद्यालयमा रहेको क्वारेनटाइनको अवस्थाबारे पनि जानकारी लिएको छ । हाल ६० क्षमताको क्वारेनटाइनलाई ८४ क्षमताको बनाउने योजना रहेको पाइएको छ । बराह नगरपालिकाको ५ र ७ को ३ जना तथा धरान उपमहानगरपालिका वडा नं. ६ र १० को गरी ५ जना क्वारेनटाइनमा रहेकोमा बराह–५ र धरान–६ का गरी २ जनालाई चिकित्सकको सिफारिसमा होम क्वारेनटाइनमा पठाइएको पाइएको छ ।
ईलाका प्रशासन धरानका प्रमुख चन्द्र कार्की समक्ष पनि टोलीले लक डाउनलाई प्रभावकारी बनाउने तथा लक डाउनको समयमा जनजीवनलाई सरल र सहज बनाउने सन्दर्भमा भईरहेको गतिविधिका सन्दर्भमा चासो राखेका थिए । उनले पानी टंकी, भारतका २ जना र इटहरी–५ का १ जना गरी ३ जनालाई मोरङको टांडीस्थित क्वारेनटाइनमा पठाइएको बताउंदै कोरोना संक्रमणवाट बच्नको लागि लक डाउन नै उत्तम विकल्प भएकाले यसलाई पूर्ण पालना गर्नुपर्ने बताए । टोलीका सदस्य किशोर राईले राहत वितरण प्रभावकारी नभएको भन्ने जनगुनासो आईरहेकोतर्फ जिज्ञासा राख्दा पर्याप्त राहत सामाग्री नभएको र वडास्तरमा सर्वपक्षीय समिति मार्फत विवरण संकलन र वितरणको कार्य नहुंदा यस्तो जनगुनासो आएको बताउंदै यस विषयमा बैठकमा कुरा राख्ने बताए ।
टोलीले धरानको कृषि उपज बजारमा पुगी फलफुल तथा तरकारीजन्य खाद्य पदार्थको सुपथ मूल्यमा सहज ढंगले आपूर्ति गर्न र विक्री वितरणमा भईरहेको कालोबजारी नियन्त्रण गर्ने सम्बन्धमा अध्यक्ष पर्शुराम कटवालसँग भेटघाट गरेको छ । कालोबजारी गरी महंगोमा विक्री वितरण गर्ने गरिएको जनगुनासो आएपछि दैनिक मूल्य सूचि निर्धारण गरी वडावडामा तोकिएको खुद्रा व्यापारी मार्फत विक्री वितरण गर्ने व्यवस्था मिलाइएको र हाल पहाडी जिल्ला र तराईवाट नै पर्याप्त मात्रामा आपूर्ति भईरहेको बताए । भेटघाटको क्रममा टोलीका सदस्य पर्वत राई, अनिल श्रेष्ठ र सागर प्रसाईले महंगी नियन्त्रण गर्न प्रत्येक खुद्रा व्यापारीले आलोपालो विक्री वितरण गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।