धरान । कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले निर्माण गरेको कोरोना राहत कोषमा नगर प्रमुख तिलक राईले ३ महिनाको तलब दिने घोषणा गरेका छन् ।

उपमहानगरका प्रमुख राईले मंगलबारको पत्रकार सम्मेलनमा गएको पुस, माघ र फागुनको तबलभत्ता कोरोना राहत कोषमा जम्मा गरिदिने घोषणा गरेका हुन् । नगर प्रमुखको तीन महिनाको १ लाख ४६ हजार ४८० रुपैयाँ कोषमा जम्मा गर्ने भएको छ । त्यस्तै धरान उपमहानगरका कर्मचारीहरूले पनि १० लाख १५ हजार ७०० रुपैयाँ कोषमा जम्मा गरेका छन् । धरान उपमहानगरका स्थायी श्रेणीविहीन कर्मचारीले दुई दिन बराबरको तलब, सहायक स्तर दोस्रो श्रेणीदेखि ५ तहसम्मकाले तीन दिनको, अधिकृत छैंठो तहका कर्मचारीले ४ दिनको, अधिकृत सातौंदेखि दशौं तहसम्मका कर्मचारीले ५ दिन बराबरको तलब दिने घोषणा गरेका हुन् ।

त्यसै गरी तीन वडाका वडाध्यक्षहरूले पनि कोषमा रकम जम्मा गर्ने घोषणा गरे । जसमा धरान–५ का सन्तोष लिम्बूले एक महिनाको तलब सुविधा, धरान–१८ का नरेन्द्रकुमार राई (प्रवीण) ले २ महिनाको तलब सुविधा र धरान–१४ का कृष्ण भट्टराईले तीन महिनाको तलब सुविधा दिने घोषणा गरेका छन् । उनीहरूले राहत कोषमा दिने विषयमा नगर प्रमुख तिलक राईले घोषणा गरे । वडाध्यक्षको एक महिनाको तलब २६ हजार रुपैयाँ हुन्छ । वडाध्यक्ष नरेन्द्रकुमार राईले दुई महिनाकाे तलब सुविधा दिएकाे बताए । १५ दिन अघि पनि १५ दिनकाे तलब काेषका लागि कटाैती गरेका थिए । उनीहरूले काेषमा ७ लाख ५७ हजार रूपैयाँ जम्मा गरेका थिए ।