विराटनगर । विभिन्न अपराधमा संलग्न रहेर बाल सुधार गृह विराटनगरमा राखिएका २३ जना बालबालिका छुटेका छन् ।
बाल सुधारगृहमा अत्यधिक चाप भएपछि कम सजाय भएकालाई अदालतको अनुमतिले छाड्ने प्रक्रिया थालेको थियो । यही प्रक्रिया अन्तर्गत शनिबारसम्म अदालतकाे अनुमतिले २३ जना बालबालिका छुटेकाे बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चाैहानले जानकारी दिए । उनका अनुसार मोरङबाट सबैभन्दा धेरै १४ बालबालिका छुटेका छन् । मोरङपछि सुनसरीबाट ५ जना बालबालिका र भापाबाट चार जना बालबालिका छुटेका हुन् । विभिन्न अपराधमा संलग्न रहेर अदालतकाे अादेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका सबैभन्दा धेरै रिहा भएकाे चाैहानकाे भनाइ छ । रिहा भएका बालबालिकालाई अभिभावकलाइ जिम्मा लगाएर घर पठाइएको उनले बताए ।
विराटनगरमा रहेमा बाल सुधारगृहमा एक नम्बर प्रदेशका १४ जिल्लाका विभिन्न अपराधमा संलग्न रहेका बालबालिका रहेका थिए । २३ जना छुटेपछि अहिले एक सय ४२ जना बालबालिका गृहमा छन् । महान्यायाधीवक्ता कार्यालयले कारागारमा कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै चैत ६ गते एक वर्षसम्म कैद सजाय पाएका कैदीलाई रिहा गर्ने निर्णय गरेको थियो। विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले अहिले कैदी बन्दी रिहा हुँदै अाएका थिए ।
विराटनगर ३ स्थिति बाल सुधारगृहमा अहिले क्षमताभन्दा तेब्बर बालबिज्याइँ गरेका बालक राखेको पाइएको छ । ५० जनाको क्षमता भएको सुधारगृहमा अहिले एक सय ४२ जना बालबालिका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा १० देखि १८ वर्ष उमेर समूहका उनीहरूलाई बस्न र सुत्न समस्या छ । यस्तै, सुधारगृहभित्र रहेको विद्यालयको अवस्था पनि एकदमै दयनीय रहेकाे छ । उक्त सुधारगृहबाट पटक–पटक गरी हालसम्म सातजना बालक भागिसकेका छन् । भागेकामध्ये हालसम्म तीनजना मात्र फेला परेका छन् ।
बालबालिका ऐन–२०४८ अनुसार नौ वर्षसम्मका बालकलाई अपराधको दायित्व लाग्दैन । १० देखि १४ वर्षसम्मका बालकलाई न्यूनतम र १४ देखि १८ वर्षसम्मका लागि आंशिक दायित्व लाग्छ । यसैले सरकारले बिज्याइँ गर्ने बालबालिकालाई अलग्गै राख्न भक्तपुर, कास्की र विराटनगरमा बाल सुधारगृह सञ्चालनमा ल्याएको छ । सबै बाल सुधारगृहको नियमन र सञ्चालन केन्द्रीय बालकल्याण समितिले गर्छ ।