धरान । नेपाली काङ्ग्रेस धरान नगर समितिले धरान उपमहानगरले बनाएको ‘फुड बैंक’ मा २ हजार केजी चामल प्रदान गरेको छ ।

नगरले स्थापना गरेको फुड बैंकलाई शुक्रबार २ हजार केजी चालम वितरण गरिएको सचिव श्याम पोखरेलले जानकारी दिए । लकडाउनका कारण समस्यामा रहेका परिवारलाई लक्षित गर्दै धरान सरकारले बनाएको फुड बैंकलाई चालम हस्तान्तरण गरिएको उनले बताए । पार्टीले फुड बैंकमा सबै संघसंस्था तथा व्यक्तिहरूलाई सक्दो सहयोग गर्न आग्रह समेत गरेको छ ।

साथै लकडाउनको अवधिभरि घरभित्रै सुरक्षित तरिकाले बस्नका लागि पनि आग्रह गरेको छ । धरानमा हालसम्म पनि कोरोनाबाट संक्रमित बिरामी भेटिएका छैनन् । नेपालमा हालसम्म ७ जना बिरामी भेटिएको दाबी गरिए पनि स्वास्थ्य मन्त्रालयले आधिकारिक रूपमा ६ जना मात्रै रहेको स्पष्ट पारेको छ । फुड बैंकमा प्राप्त राहतलाई वितरण गर्ने तयारी थालिएको छ । धरान उपमहानगरले पहिलो चरणमा ३ हजार नगरबासीलाई चालमलगायतका सामग्री वितरण गर्न लागेको हो । यसका लागि भण्डारण गरिएको क्षेत्र धरान–८ स्थित सभागृहमा सामग्री प्याकेजिङको काम थालिएको छ ।